काठमाडौं। संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वको टोली अमेरिका पुगेको छ। मन्त्री खनाललाई न्युयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह बुधबार अमेरिका पुग्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन्। शाह नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन्।
यस पटक राष्ट्र संघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या १४ रहेको छ।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यक्रम छ। परराष्ट्र मन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल फर्कनेछन्।











