काठमाडौं। भोटेकोशी नदीको बाढीले ध्वस्त बनाएको गल्छी-बेत्रावती सडक केही दिनमा खुल्ने भएको छ। गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक योजनाका अनुसार सडक अस्थायीरुपमा केही दिनमा नै खुलाउने तयारी गरिएको छ।
बाढीका कारण क्षतिग्रस्त गल्छीदेखि बेत्रावतीसम्मको सडकमा ट्र्याक खोल्ने काम धमाधम भइरहेको छ। उत्तरगया बोर्डिङ स्कुल नजिक ढुंगासहितको पहिरो हटाउने काम जारी छ। नेपाली सेनाले ब्लास्टिङ गरी पहिरो हटाएपछि गल्छीदेखि बेत्रावतीसम्मको ट्र्याक खुल्नेछ।
गल्छीदेखि विदुरसम्मको सडक मर्मत गरिसकिएको छ। देवीघाटमा एक्रो ब्रिज जडान गरिएको छ।
सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख बद्रीप्रसाद शर्माले ढुंगेदेखि बेत्रावतीसम्मको सडक जोड्न काम भइरहेको भन्दै बिचको २०० मिटर भीर काटेपछि बेत्रावतीसम्मको बाटो खुल्ने जानकारी दिए। ‘यसका लागि २/३ दिन लाग्छ। यहाँ अहिले ब्लास्टिङको काम पनि भइरहेको छ। यो रक अलि कडा चट्टान भएकाले समस्या भएको हो,‘ उनले भने।
शर्माका अनुसार बेत्रावतीमा बेलीब्रिज हाल्ने काम सुरु भएको छ। जग बनाउने काम गल्छी-त्रिशूली सडक योजनाले गरिरहेको छ। बेलीब्रिज नेपाली सेनाले हाल्नेछ। त्यसको लागि चार दिनदेखि एक हप्ता लाग्न सक्ने शर्माले बताए।
‘यो बेलीब्रिज ७० मिटर लामो छ। यसलाई हाल्न आवश्यक पर्ने जग बनाउने काम भइरहेको छ। उताको ट्र्याक खुलेपछि गल्छीदेखि स्याफ्रुबेसी वारिसम्म सडक कनेक्टिभिटी हुन्छ,‘ उनले भने।
यसै गरी सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका सुपरिन्टेन्डिङ इन्जिनियर सौजन्य नेपालका अनुसार गल्छी- देवीघाट खण्डमा भदौ १० र १४ गतेको भीषण बाढीबाट क्षति भएको रातमाटे खण्डमा करिब १०० मिटर रोड वे एक्साभेसन तथा ट्र्याक खुलाउने सम्पन्न गरी सडक सञ्चालनमा ल्याइएको छ।
ठूलोखोलामा जमेको करिब २-३ मिटर लेदो हटाई ठूलोखोला-काशीटार-देवीघाट क्षेत्रमा गेग्रन हटाउने काम समेत सम्पन्न भइसकेको छ। देवीघाट-भैंसे खण्डमा सडक सम्पर्क पुनः स्थापना भई यातायात सञ्चालन भइरहेको छ।
भैंसे-बेत्रावती खण्डमा भने ट्र्याक खुलाउने काम अन्तिम चरणमा पुगेको छ। हाल करिब १५० मिटर क्रिटिकल खण्ड मात्र बाँकी रहेको छ र उक्त क्षेत्रमा धेरै भन्दा मेसिन र स्रोतहरू मोबिलाइज्ड गरी तीव्र रूपमा काम भइरहेको छ।
ट्र्याक खुलेका भागमा ६ मिटर चौडाइमा रोड सर्फेस बनाउने काम भइरहेको र त्यसमा ग्राभेल गर्ने र ह्युम पाइप तथा तथा अस्थायी नाला बनाउने कामहरू क्रमशः अगाडि बढाइँदै नेपालले बताए।
यस्तै नेपालका अनुसार बेत्रावती बेलिब्रिज डिजाइन सम्पन्न भई फाउन्डेसन अर्थात् जग हाल्ने काम भइरहेको छ। फाउन्डेसनको आवश्यक तयारीपछि भोलि कंक्रिट गर्ने योजना रहेको नेपालले बताए। समग्रमा, गल्छीदेखि बेत्रावतीसम्मको सडक सम्पर्क पुनःस्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ। जसमा अब मुख्य क्रिटिकल काम भैंसे-बेत्रावतीको करिब १५० मिटर ट्र्याक खुलाउने र बेत्रावतीमा बेलिब्रिज निर्माण रहेको छ।

बेत्रावती-धुन्चे हुँदै स्याफ्रुबेसीसम्मको सडक खण्डमा समस्या छैन।
शर्माका अनुसार बेत्रावतीसम्मको सडक खोलेपछि धुन्चे हुँदै स्याफ्रुबेसी वारीसम्म जान सकिन्छ। तर, पारीपट्टि जान तत्कालै सम्भव छैन। ‘पुल नभएकाले पारि हेभी मेसिन केही लैजान पाइएको छैन। पारिपट्टि मेसिन खोज्ने काम भइरहेको छ। भेटिए काम सुरु भइहाल्छ,’ शर्माले भने।
रसुवागढी-स्याफ्रुबेसी सडक बनाउन चीनको भर
सरकार रसुवागढी नाकाबाट स्याफ्रुबेसीसम्मको सडक खुलाउन भने चीनको भर परेको छ। सरकारले यो खण्ड खुलाउनका लागि चीनसँग सहयोग मागिसकेको छ।
स्याफ्रुबेसी-रसुवागढी सडक १५.८ किलोमिटर दूरीको हो। यो सडक विस्तारका लागि भोटेकोशी बाढीअघि चीनले नै काम गरिरहेको थियो। बाढीअघि चीनले अनुदान सहयोगमा विस्तारको काम गरेका कारण सरकार अहिले उसकै भर परेको हो।
पूर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार स्याफ्रुबेसीदेखि रसुवागढी नाकासम्मको सडक बनाइदिन चीनलाई आग्रह गरिएको छ।
‘हामीले चिनियाँ पक्षलाई स्याफ्रुबेसीदेखि रसुवागढी नाकासम्मको सडक चीनले बनाइदिने विश्वास गरेका छौं। यसका लागि हामीले चिनियाँ पक्षलाई आग्रह गरिसकेका छौं,’ मन्त्रालय स्रोतले भन्यो।
चीनले आफ्नो सीमासम्म अस्थायीरुपमा सवारीसाधन चलाउन सक्ने सडक बनाइसकेको छ। चीनले पुरानो सडक माथि थुप्रिएको डेब्रिज प्रयोग गरेर सडक बनाएको हो। सडक स्थायी खालको भने होइन।
पूर्वाधार विकास मन्त्रालयले पनि अहिले सकेसम्म पुरानै सडकलाई अस्थायीरुपमा सञ्चालनमा ल्याउने योजना अनुसार काम गरिरहेको छ।

पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल दीर्घकालीन रूपमा सडक बनाउन भने अब ‘अलाइनमेन्ट’ नै परिवर्तन गर्नुपर्ने बताउँछन्।
‘हामीले अहिले तत्कालका लागि अस्थायी रूपमा सडक खुलाउन काम गरिरहेका हौं,’ सिग्देलले बिजमाण्डूसँग भने, ‘तर दीर्घकालीन सडक अब नदी किनारबाट कम्तीमा १०० मिटर माथि बनाउनुपर्छ। अन्य विकल्प पनि हेर्छौं।‘











