काठमाडौं। दसैंको मुखमा बैंकहरुले ६१ अर्ब रुपैयाँले ऋण बढाएका छन्। साउन र भदौमा गरेर २० बाणिज्य बैंकहरुले ६१ अर्ब रुपैयाँ नयाँ ऋण लगानी गरेका हुन्।
नेपाल बैंकर्स संघका अनुसार, केही बैंकले ऋण घटाएपनि धेरैले बढाएका छन्। २० मध्ये ८ वटा बैंकले ऋण घटाएका छन्। यी बैंकबाट बाँकीले ऋण आफ्नोमा लगेको पनि पाइएको छ।
बैंकरका अनुसार, दसैंका लागि आवश्यक सरसामानको आयात, केही औद्योगिक कच्चा पदार्थ, जलविद्युत परियोजनालगायतका लागि ऋण गएको छ। घर-गाडी खरीका लागि पनि ऋण गएको छ।
‘घरगाडी र व्यापारिक बस्तुहरुको आयातका लागि ऋण गएको देखिन्छ’ कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बिजमाण्डूसँग भने।
चालु बर्ष नेपाल राष्ट्र बैंकले साढे ६ खर्ब रुपैयाँ ऋण बिस्तार गर्ने लक्ष्य लिएको छ। दुई महिनामा गएको ऋण बिस्तारलाई हेर्दा लक्ष्य पुरा नहुने देखिन्छ।
ऋण बिस्तारमा ग्लोबल आइएमइ बैंक आक्रामक देखिएको छ। बैंकले २० अर्ब रुपैयाँ ऋण बिस्तार गरेको छ। बैंक एक्लैले कुल बिस्तार भएको ऋणको ३३ प्रतिशत एक्लैले ऋण दिएको छ। यसपछि एभरेष्ट बैंकले ऋण बढाएको छ। बैंकले करिव १३ अर्ब रुपैयाँ ऋण बढाएको छ। लक्ष्मी बैंकले १० अर्ब ३१ करोड ऋण बिस्तार गरेको छ।
गत बर्ष आक्रामक देखिएको नबिल बैंक ५औं नम्बरमा छ। कुमारी बैंकले पनि नबिलभन्दा केही बढी ऋण बिस्तार गरेको छ।
सबैभन्दा बढी ऋण एनआइसी एसिया बैंकको घटेको छ। बैंकको ६ अर्ब ६९ करोडले ऋण घटेको छ। यसपछि सानिमा, राष्ट्रिय बाणिज्य बैंक र प्रभ बैंक छन्। प्राइम, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र स्ट्यान्डर्ड चार्टर्डको पनि ऋण घटेको छ। जम्मा ६९ करोडले कृषि विकास बैंकको ऋण बढेको छ।
ऋणसँगै ६ बैंकले निक्षेप पनि घटाएका छन्। कृषि विकास बैंक, एनआइसी एसिया, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, प्रभु र प्राइम बैंकको निक्षेप घटेको छ। एनआइसी एक्लैको १४ अर्बेले निक्षेप घटेको छ।
नयाँ आर्थिक बर्षको दुई महिनामा ६७ अर्ब रुपैयाँले निक्षेप बढेको छ। अहिले बैंकहरुसँग कुल ७५ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप छ। यद्यपी निक्षेपको बृद्धि यसपाली पोहोरजस्तो देखिएको छैन।











