काठमाडौं। भारतबाट आयात रोकिएको असरस्वरुप ६ महिनाअघि दर्जनको ३५० रुपैयाँसम्म पुगेको केराको भाउ अहिले ५० प्रतिशतभन्दा बढी सस्तो भएको छ।
भाउ सस्तिंदा उपभोक्तालाई राहत भएको छ। उपभोक्ताले अहिले केरा प्रति दर्जन १५० रुपैयाँभन्दा कम मूल्यमा किन्न पाएका छन्।
बजारमा स्वदेशी केरा ठूलो परिमाणमा आएका कारण भाउ आधा सस्तो भएको व्यवसायीले बताएका छन्। चितवन, सर्लाही, कैलाली, कञ्चनपुर लगायत जिल्लामा उत्पादन भएको केरा बजारमा आइरहेको छ।
बजारको मागभन्दा बढी बजारमा भित्रिएपछि व्यापारीले किसानसँग खरिद गर्न छाडेका छन्। उत्पादन बढेका कारण भाउ सस्तो भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष धननाथ महतोले बताए।
‘पहिले भारतबाट नआएपछि किसानले उत्पादन गरेको केरा समयअघि नै बिक्री भइसक्थ्यो। माग धेरै हुँदा खरिद गर्ने व्यापारीको कमी थिएन। तर, अहिले किसानको केरा बिक्री गर्न धेरै समस्या भइरहेको छ। हरियो बिक्री गर्नुपर्ने केरा बारीमै पाक्न थालेपछि किसानलाई घाटा भएको छ,’ उनले भने, ‘तीजपछि केराले बजार पाउन सकेको छैन। तीज अघिसम्म केराको गुणस्तर र माग राम्रो थियो। अहिले आपूर्ति बढेको छ। गुणस्तर भने घटेको छ।’
सबैतिरको उत्पादन एकैपटक बजारमा आउँदा मूल्य घटेको व्यवसायीहरूको भनाइ छ।
बजारमा गुणस्तर अनुसार केराको भाउ फरक छ। कुलेश्वरस्थित थोक बजारमा केराको भाउ प्रति कार्टुन (९ दर्जन) ९०० रुपैयाँदेखि एक हजार रुपैयाँमा आइपुगेको छ। खुद्रा बजारमा उपभोक्ताले प्रति दर्जन १३० रुपैयाँदेखि १५० रुपैयाँमा किन्न पाएका छन्।

गत वर्ष असोजमा स्वदेशी केराको बजार प्रवर्धन गर्न भारतीय केराको आयातमा रोक लगाइएको थियो। जसले गर्दा गत चैतमा थोक बजारमै केराको मूल्य क्रेटको २२०० रुपैयाँ पुगेको थियो।
चितवन लगायत विभिन्न ठाउँमा किसानले केरा प्रति दर्जन ९० रुपैयाँसम्ममा बिक्री गरेका थिए। उपभोक्ताले प्रति दर्जन ३५० रुपैयाँसम्म तिरेका थिए।
किसानले यसअघि हरियो जी नाइन केरा प्रति कोसा ७ रुपैयाँका दरले बेचेकामा अहिले बढीमा ३ रुपैयाँ भन्दा पाएका छैनन्। मालभोग केरा पनि किसानले प्रति कोसा ४ रुपैयाँमा बेचिरहेका छन्।
यसअघि उनीहरूले प्रति कोसा ९ रुपैयाँसम्म लिएका थिए। किसानले हरियो केरा अहिले २ रुपैयाँमा बिक्री गर्छु भन्दा पनि किन्ने व्यापारी नपाइने अध्यक्ष महतोले बताए।
संघका अनुसार चितवनबाट मात्रै दैनिक ३० देखि ४० बोलेरो गाडी केरा उपत्यका र अन्य जिल्लामा जाने गरेको छ।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँले पनि बजारमा धेरै भित्रिएका कारण केराको भाउ सस्तो भएको बताए।
‘भारतीय केराको आयात रोकिएपछि स्वदेशी केराले राम्रो मूल्य पाइरहेको थियो। पहिले प्रति कार्टुन २ हजारभन्दा बढी तिर्छु भन्दा केराको अभाव थियो। अहिले राम्रो केरा कार्टुनको एक हजारमा फालाफाल छ। सस्तो भए पनि किन्नका लागि खुद्रा व्यापारी छैनन्,’ उनले भने।
उनका अनुसार थोक बजारमा अहिले केराको भाउ घटाएर बिक्री गर्ने प्रतिस्पर्धा चलेको छ।
‘बजारमा केराको आपूर्ति धेरै भयो। सबैतिरबाट एकैपटक आएका कारण भाउ सस्तो भएको हो। हामीले थोक बजारमा बिक्री गर्न सकेका छैनौं। जसले गर्दा आफ्नो स्टक सक्न मूल्य घटाउने होडबाजी चलेको छ,’ बानियाँले भने।

कुलेश्वरमा अहिले दैनिक एक लाख टनको हाराहारी केरा भित्रिरहेको छ। कुलेश्वर बजारका व्यवसायी रुद्रप्रसाद पाठकले केराको भाउ आधा घटे पनि आपूर्ति धेरै भएका कारण बिक्री गर्न समस्या भएको बताए।
‘विभिन्न जिल्लाबाट केरा ठूलो परिमाणमा आइरहेको छ। तर, आयातित केरा जस्तो लामो समयसम्म राख्न मिल्दैन। छोटो समयमा बिग्रिने भएकोले भाउ सस्तो भएको हो,’ उनले भने, ‘पाकेको केरा ४०० रुपैयाँ प्रति क्रेट पाए पनि व्यापारीले खरिद गर्ने अवस्था छैन।’










