महँगी बढेपछि विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता घट्यो, शोधनान्तर ९०.३४ अर्ब बचतमा

बिजमाण्डू
२०८३ असोज २ गते १८:३७ | Sep 18, 2026
महँगी बढेपछि विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता घट्यो, शोधनान्तर ९०.३४ अर्ब बचतमा


काठमाडौं। निरन्तर महँगी बढ्न थालेसँगै विदेशी विनिमय सञ्चितिले वस्तु तथा सेवा आयात धान्ने क्षमता घटेको छ।

Vigo
GBIME
Tata

चालु आर्थिक वर्ष पहिलो महिना साउनमा विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले बढेर ३९ खर्ब ४६ अर्ब पुगे पनि वस्तु तथा सेवा आयात धान्न क्षमता घटेको हो।

असार मसान्तको विदेशी विनिमय सञ्चितिले २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने अवस्था रहेकामा त्यो क्षमता अहिले क्रमश: २१.८ महिना र १८.८ महिनामा झरेको छ। डलर सञ्चिति बढे पनि मूल्यवृद्धिले बाहिरिने डलर बढ्दा वस्तु तथा सेवा आयात गर्ने क्षमता घटेको हो।

असारको तुलनामा साउन मसान्तमा डलर ०.९ प्रतिशतले अधिमूल्यन भएको छ। साउनमा आयात ३१.०१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

गत वर्ष प्रति ब्यारल कच्चा पेट्रोलियम पदार्थको मूल्य ६७.३० अमेरिकी डलर रहेकामा अहिले ३६.७ प्रतिशतले बढेर ९२.०२ डलर कायम भएको छ।

महँगी ५.९६ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थको भाउ ६.७७ प्रतिशतले बढेको छ। पोहोर साउनमा महँगी जम्मा १.६८ प्रतिशतले मात्र बढेको थियो।

साउनमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ तथा शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँ बचतमा छ।