विद्युत प्राधिकरणले ४ महिनापछि पायो नेतृत्व, दीर्घायु श्रेष्ठ कार्यकारी निर्देशक नियुक्त

जनक वली
२०८३ असोज २ गते १७:२४ | Sep 18, 2026
विद्युत प्राधिकरणले ४ महिनापछि पायो नेतृत्व, दीर्घायु श्रेष्ठ  कार्यकारी निर्देशक नियुक्त


काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन्। कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएको करिब ४ महिनापछि दीर्घायुले कार्यकारी निर्देशकमा नियुक्ति पाएका हुन्।

Vigo
GBIME
Tata

सरकारले गत वैशाख तेस्रो साता ल्याएको अध्यादेशका कारण तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले वैशाख ३० गते दीर्घायुलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए।

भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र पुल्चोक क्याम्पसबाट इन्फरमेसन एण्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरेका ५५ वर्षिय दीर्घायु प्राधिकरणमा तीन दशकदेखि कार्यरत छन्।

उनी ऊर्जामन्त्री विराजभक्त र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जोडबलमा कार्यकारी निर्देशक बनेको स्रोतले बतायो। शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले दीर्घायुलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्री श्रेष्ठका प्रेस संयोजक राजु श्रेष्ठले दीर्घायुलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने निर्णय भएको जानकारी दिए।

दीर्घायुले २०५४ मा इन्जिनियरका रूपमा भार प्रेषण केन्द्रबाट आफ्नो सेवा यात्रा सुरु गरेका थिए। उनले २०११ मे देखि २०१३ मे सम्म हेटौंडा ग्रिड डिभिजनको प्रमुख र २०१३ मे देखि २०१४ डिसेम्बरसम्म कालीगण्डकी जलविद्युत केन्द्रको प्रमुख भएर काम गरेका थिए।

२०१४ डिसेम्बरदेखि २०१५ अप्रिलसम्म अत्तरिया क्षेत्रीय कार्यालय, २०१५ अप्रिलदेखि २०१६ जनवरीसम्म हेटौडौं क्षेत्रीय कार्यालय र २०१६ जनवरीदेखि २०१८ फेब्रुअरीसम्मा काठमाडौं क्षेत्रीय कार्यालय प्रमुखको रुपमा काम गरेका दीर्घायुले २०१८ फेब्रुअरीदेखि २०२० डिसेम्बरसम्म ग्रिड अपरेसन विभागको प्रमुख र २०२५ अप्रिलदेखि २०२६ मेसम्म प्रसारण निर्देशनालयको उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए।