१३ देशमा राजदूत नियुक्तिको सिफारिस, भारतमा निश्चलनाथ पाण्डे र चीनमा कल्याणराज शर्मा

बिजमाण्डू
२०८३ असोज २ गते १६:१७ | Sep 18, 2026
१३ देशमा राजदूत नियुक्तिको सिफारिस, भारतमा निश्चलनाथ पाण्डे र चीनमा कल्याणराज शर्मा


काठमाडौं। सरकारले विभिन्न १३ देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।

Vigo
GBIME
Tata

परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रमा विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका र नेतृत्व गरेका आधारमा राजदूतको नाम सिफारिस गरेको बताए।

मन्त्रिपरिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

मन्त्रिपरिषद्‍ले भारतमा डा. निश्चलनाथ पाण्डे, चीनमा डा. कल्याणराज शर्मा र अमेरिकामा चिरनजंग थापालाई राजदूत बनाउन सिफारिस गरेको छ।

यस्तै पूर्वप्रधानसेनापति गौरव शम्शेर जबरा बेलायत, जिग्यान कुमार थापा जापान, सुरेशकुमार कर्ण इजरायल, प्राप्ति शेरचन स्पेन, शरू जोशी जर्मनी, डा. पद्माक्षी राणा ओमान, चूडामणि खरेल मलेसिया, प्रा. डा. सङ्गम श्रेष्ठ दक्षिण कोरिया, डा. मंचल झा श्रीलंका र गिरीबहादुर सुनार साउदी अरेबियाका लागि सिफारिस भएका छन्।

निश्चलनाथ पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका छोरा हुन्। उनी हाल सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक छन्। उनले २० वर्षअघि परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका रुपमा काम गरेका थिए। उनी ९ वर्षअघि उच्चस्तरीय परराष्ट्र नीति कार्यदलमा सदस्य थिए।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि र कानूनमा स्नातक गरेका पाण्डे नेसनल इन्स्टिच्युट अफ एडभान्स स्टडिज, बेंगलोरका मानार्थ सह-प्राध्यापक र नेसनल युनिभर्सिटी अफ सिंगापुरको इन्स्टिच्युट अफ साउथ एसियन स्टडिजका नन-रेजिडेन्ट सिनियर फेलो हुन्।

चीनका लागि प्रस्तावित राजदूत डा. कल्याणराज नेपाल-चीन मामलाका विज्ञ मानिन्छन्। उनी सिनोलोजिस्ट र अर्थशास्त्री पनि हुन्। चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषणमा केन्द्रित भई अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी हाल फुदान युनिभर्सिटी एलम्नाई एसोसिएसन नेपाल, नेपाल-चीन फ्रेन्डसिप फोरम र काउन्सिल अफ सिनोलोजिस्ट्स-नेपालको अध्यक्ष छन्।

उनी काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा भिजिटिङ स्कलरका रूपमा कार्यरत छन्। उनी एडभेन्चर आउटडोर एक्स्कर्सन प्रालिको प्रबन्ध निर्देशकका रुपमा हिमालयन तथा सीमापार पर्यटन प्रवर्द्धनमा पनि क्रियाशील छन्।

उनी नेपाल-चीन आर्थिक कूटनीति, व्यापार र ‘बेल्ट एण्ड रोड’ सहकार्यका प्रखर विश्लेषक तथा वक्ता हुन्।

अमेरिकाका लागि प्रस्तावित राजदूत थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामला विज्ञ हुन्। कोलम्बिया युनिभर्सिटीको स्कूल अफ इन्टरनेसनल एण्ड पब्लिक अफेयर्सबाट अन्तर्राष्ट्रिय मामलामा स्नातकोत्तर गरेका छन्। सन् २०१७ देखि उनले अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा १५ देशमा जोखिम व्यवस्थापन र संकट व्यवस्थापनको नेतृत्व गर्दै आएका छन्।

आफ्नो करियरको सुरुवाती चरणमा उनले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि सिङ्गापुर र नेपालका स्थायी नियोगमा काम गरेका थिए। उनी हार्भरर्ड केनेडी स्कूलको ‘लिडरसिप इन होमल्याण्ड सेक्युरिटी’ कार्यक्रम पूरा गर्ने पहिलो गैर-सैनिक नेपाली हुन्।

यसअघि उनले सेफरवर्ल्डमा एसियाका लागि क्षेत्रीय सुरक्षा तथा न्याय सल्लाहकार र द एसिया फाउन्डेसनमा सुरक्षा क्षेत्र/नागरिक-सैन्य सम्बन्ध सल्लाहकारका रूपमा काम गरेका थिए।

बेलायतका लागि प्रस्तावित राजदूत जबराले नेपाली सेनामा ४ दशक काम गरेका थिए। उनले प्रधानसेनापतिबाट अवकाश पाएको ११ वर्ष भइसकेको छ।

जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमारले नेपाल-जापान सम्बन्ध अभिवृद्धिमा दुई दशकभन्दा बढी समय काम गरेका छन्। योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनमा स्नातकोत्तर तथा शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका उनले सन् २००९ देखि कानागावा इन्टरनेसनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामला विज्ञका रूपमा काम गर्दै आएका छन्।

इजरायलका लागि प्रस्तावित राजदूत कर्ण सूचना प्रविधि, बैंकिङ र आर्थिक नीति क्षेत्रका विज्ञ हुन्। उनले कुमारी र नेपाल बैंकमा काम गरेका थिए। उनले नेपाल बैंकमा प्रमुख सञ्चालन अधिकृतका रूपमा एकीकृत कोर बैंकिङ सिस्टममा रूपान्तरण गर्ने कार्यको नेतृत्व गरेका थिए।

उनले कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ)मा लगातार दुई कार्यकाल अध्यक्षका रूपमा काम गरेका थिए।

स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति नेपाली अन्तर्राष्ट्रिय विकास तथा साझेदारी क्षेत्रकी नेतृत्वकर्ता हुन् जसलाई दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अफ्रिकामा १५ वर्ष काम गरेको अनुभव छ।

सन् २०१५ देखि विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसनमा लैंगिक समाधान र प्रभावका लागि सञ्चालन अधिकृतका रूपमा कार्यरत उनले आइएफसी इन्डियाको ‘जेन्डर कन्ट्री प्रोग्राम’को नेतृत्व गर्दै आएकी छन्।

ब्रान्डिस युनिभर्सिटीको हेलर स्कूलबाट दीगो अन्तर्राष्ट्रिय विकासमा एमबीए र नेसनल युनिभर्सिटी अफ सिंगापुरबाट समाजशास्त्रमा स्नातक गरेकी छन्।

जर्मनीका लागि प्रस्तावित राजदूत जोशी वैदेशिक रोजगार सुशासन, लैंगिक समानता र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएकी वरिष्ठ नीति विज्ञ हुन्।

उनले युएन वुमेनमा एक दशक दक्षिण एसियाका लागि क्षेत्रीय कार्यक्रम प्रबन्धक र श्रम कूटनीति प्रमुखका रूपमा काम गरेकी थिइन्। उनले इन्स्टिच्युट अफ सोसल स्टडिज, द हेगबाट महिला तथा विकास विषयमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्।

ओमानका लागि प्रस्तावित राजदूत डा. पद्माक्षी नेपाल, एसिया र युरोपभर दिगो विकास, समावेशी नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव भएकी विकास तथा उद्यमी नेता हुन्।

उनले क्याम्ब्रिज विश्वविद्यालयको ‘इन्स्टिच्युट फर म्यानुफ्याक्चरिङ’बाट खाद्य उत्पादनमा कर्पोरेट सामाजिक उत्तरदायित्व विषयमा विद्यावारिधि, क्याम्ब्रिजबाटै वातावरण, समाज र विकासमा एमफिल र वेबस्टर युनिभर्सिटी थाइल्यान्डबाट एमबीए गरेकी छन्।

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनी हाल नेपाल योग खेलकुद संघको महासचिवका रूपमा कार्यरत छन्।

दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत प्रा. डा. सङ्गम श्रेष्ठ अन्तर्राष्ट्रिय सहकार्य, जलवायु उत्थानशीलता र जल-सुरक्षा कूटनीतिमा २५ वर्षभन्दा बढीको अनुभव भएका विज्ञ हुन्। हाल एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाइल्यान्डको ‘स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी’मा प्राध्यापक रहेका उनी ‘ग्लोबल वाटर एण्ड स्यानिटेसन सेन्टर’का संस्थापक सह-निर्देशक हुन्।

यामानासी युनिभर्सिटी, जापानबाट एकीकृत नदी बेसिन व्यवस्थापनमा विद्यावारिधि गरेका उनले ३० भन्दा बढी देशका सरकार र कूटनीतिक नियोगहरूसँग नजिक रहेर काम गरेका छन्। जलवायु परिवर्तन र नदी अध्ययनमा विश्वभर नवौँ स्थानमा परेका उनी स्ट्यान्फोर्ड युनिभर्सिटीको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा पटक-पटक पर्न सफल भएका छन्।

श्रीलंकाका लागि प्रस्तावित राजदूत झा त्रिभुवन विश्वविद्यालयकी सह-प्राध्यापक हुन्। उनले केही वर्षअघि सत्य निरूपण तथा मेलमिलाप आयोगको सदस्यका रुपमा काम गरेकी थिइन्।

उनले बीआर अम्बेडकर युनिभर्सिटी, भारतबाट हिन्दी साहित्यमा विद्यावारिधि र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र हिन्दी साहित्यमा स्नातकोत्तर गरेकी छन्।

गिरीबहादुर साउदी अरेबियाका लागि प्रस्तावित राजदूत सुनारसँग अन्तर्राष्ट्रिय विकास, नीतिगत सल्लाह र बहु-सरोकारवाला सुशासनका क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ।