कोरला नाकाबाट भदौमा भित्रिए १२५३ वटा विद्युतीय गाडी, लक्ष्यको चार गुणा बढी राजस्व संकलन

बिजमाण्डू
२०८३ असोज २ गते १३:४४ | Sep 18, 2026
कोरला नाकाबाट भदौमा भित्रिए १२५३ वटा विद्युतीय गाडी, लक्ष्यको चार गुणा बढी राजस्व संकलन


काठमाडौं। भन्सार कार्यालय मुस्ताङले भदौमा २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

Vigo
GBIME
Tata

भदौ १० गतेको बाढीले रसुवा नाका ध्वस्त भएपछि तथा चीनले १४ गतेदेखि तातोपानी नाका बन्द गरेपछि कोरला नाका हुँदा आयात बढेकाले त्यसको प्रभाव राजस्वमा परेको हो।

प्रमुख अधिकृत विदुर चुडालले आयात ह्वात्तै बढेका कारण राजस्व लक्ष्यभन्दा चार गुणा बढी संकलन भएको बताए। ‘भदौमा ७२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। तर, आयात उल्लेख्य रुपमा बढेपछि राजस्व संकलन पनि चार गुणा बढी भयो,’ उनले भने।

कार्यालयले साउनमा २६ करोड ३९ रुपैयाँ राजस्व संकलन गरेको थियो। कोरला नाकाबाट अहिले दैनिक ५० देखि ७० वटासम्म कन्टेनर भित्रिरहेका छन्।

चुडालका अनुसार भदौमा १२५३ वटा विद्युतीय गाडी भित्रिएका छन्। ती गाडीबाट मात्र १ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको छ। साउनमा जम्मा १०० वटा इभी आयात भएका थिए।

साउनमा जम्मा ५६ वटा कन्टेनरमा सामान आयात भएकामा भदौमा ६९७ कन्टेनर भित्रिएका छन्।