काठमाडौं। भन्सार कार्यालय मुस्ताङले भदौमा २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
भदौ १० गतेको बाढीले रसुवा नाका ध्वस्त भएपछि तथा चीनले १४ गतेदेखि तातोपानी नाका बन्द गरेपछि कोरला नाका हुँदा आयात बढेकाले त्यसको प्रभाव राजस्वमा परेको हो।
प्रमुख अधिकृत विदुर चुडालले आयात ह्वात्तै बढेका कारण राजस्व लक्ष्यभन्दा चार गुणा बढी संकलन भएको बताए। ‘भदौमा ७२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो। तर, आयात उल्लेख्य रुपमा बढेपछि राजस्व संकलन पनि चार गुणा बढी भयो,’ उनले भने।

कार्यालयले साउनमा २६ करोड ३९ रुपैयाँ राजस्व संकलन गरेको थियो। कोरला नाकाबाट अहिले दैनिक ५० देखि ७० वटासम्म कन्टेनर भित्रिरहेका छन्।
चुडालका अनुसार भदौमा १२५३ वटा विद्युतीय गाडी भित्रिएका छन्। ती गाडीबाट मात्र १ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको छ। साउनमा जम्मा १०० वटा इभी आयात भएका थिए।
साउनमा जम्मा ५६ वटा कन्टेनरमा सामान आयात भएकामा भदौमा ६९७ कन्टेनर भित्रिएका छन्।