काठमाडौं। नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो २०२६ मा काठमाडौं उपत्यकाबाहिरका रियल स्टेट कम्पनीहरू पनि आकर्षक योजना र विशेष छुटसहित आफ्ना परियोजना प्रस्तुत गर्न लागि परेका छन्।
धनगढी-अत्तरिया, भरतपुर र पोखराका डेभलपरहरूले सस्तो मूल्यका, फाइनान्सको सुविधा भएका र अन्य प्रोत्साहनसहितका परियोजना उपत्यकाका ग्राहकमाझ पस्किने प्रयास गरिरहेका हुन्।
उपत्यकामा जग्गाको मूल्य महँगिँदै गएपछि बाहिरी जिल्लाका परियोजनालाई लगानीको विकल्पका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको छ। एक्स्पोमा आएका कम्पनीहरूले विशेषगरी तुलनात्मक रूपमा कम मूल्यमा जग्गा, भविष्यमा मूल्य बढ्न सक्ने सम्भावना र आवासीय तथा मनोरञ्जनात्मक उपयोगका अवसरलाई मुख्य आकर्षण बनाएका छन्।
सुदूरको पहिचान नयाँ स्वरुपमा
धनगढी-अत्तरिया क्षेत्रमा निर्माण भइरहेको स्वागतनगर ग्रान्ड सिटीले ‘सुदूरको पहिचान नयाँ स्वरुपमा’ भन्ने अवधारणासहित प्रोजेक्ट अघि ल्याएको छ। बीएनबी ग्रुप नेपालले विकास गरिरहेको यो प्रोजेक्ट आधुनिक परिवारका लागि शान्त, स्वच्छ, सुविधासम्पन्न र आरामदायी आवासीय वातावरण बनाउने उद्देश्यले तयार पारिएको कम्पनीले जनाएको छ।
स्वागतनगर ग्रान्ड सिटीमा २१ बिघा क्षेत्रफलमा ३८५ वटा प्लट तयार हुँदैछन्। कम्पनीका अनुसार हाल प्लटिङको काम भइरहेको छ र २०८३ सालको अन्त्यसम्ममा प्रोजेक्टको मुख्य काम पूरा गर्ने लक्ष्य राखिएको छ।
कम्पनीका संजिव कार्कीका अनुसार एक्स्पो अवधिभर ग्राहकले जग्गा किन्दा १० प्रतिशतसम्म छुट पाउनेछन्। यहाँ साढे ३१ लाख रुपैयाँदेखि जग्गा उपलब्ध रहेको र खरिदका लागि ५० प्रतिशतसम्म फाइनान्सको सुविधा लिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीले काठमाडौंमा प्रोजेक्ट ल्याउनुको मुख्य कारण उपत्यकाका ग्राहकलाई बाहिरी क्षेत्रमा लगानीको अवसर देखाउनु रहेको बताएको छ। धनगढी-अत्तरिया क्षेत्रमा तुलनात्मक रूपमा कम मूल्यमा जग्गा किन्न सकिने भएकाले लगानीका लागि इच्छुक ग्राहकलाई लक्षित गरेर एक्स्पोमा सहभागिता जनाएको कार्कीले बताएका छन्।
स्वागतनगर ग्रान्ड सिटीमा आवासीय प्लटसँगै सामुदायिक पार्क, कृत्रिम ताल, आधुनिक बसपार्क, सांस्कृतिक गाउँ र व्यावसायिक क्षेत्रको परिकल्पना गरिएको छ। सडक बत्ती, भरपर्दो खानेपानी, वृक्षरोपणसहितका सडक, व्यवस्थित सडक संरचना, विद्युत्, ढल निकास र फोहोर व्यवस्थापनको सुविधा पनि प्रोजेक्टमा समेटिएको छ।
प्रोजेक्टमा तीन प्रकारका प्लट उपलब्ध हुनेछन्। स्ट्यान्डर्डतर्फ १३६.५५ देखि ५६१.८१ वर्गमिटरसम्मका २६५ प्लट, प्रिमियतर्फ १३४.७२ देखि २५६.२९ वर्गमिटरसम्मका ९० प्लट र फ्ल्यागसिपतर्फ २१९.७६ देखि ५६१.८१ वर्गमिटरसम्मका ३० प्लट रहेका छन्।

स्वागतनगर ग्रान्ड सिटी अत्तरिया बजारबाट करिब ५ किलोमिटर पूर्वमा पर्छ। धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर उत्तरपश्चिम र डोके बजारस्थित सीमाबाट करिब १९ किलोमिटर उत्तरमा परियोजना रहेको कम्पनीले जनाएको छ।
१५ लाख रुपैयाँमै ५ आना जग्गा
भरतपुरको मंगलपुर र शिवनगर क्षेत्रमा प्रोजेक्ट सञ्चालन गरिरहेको रुद्र रियल स्टेट एन्ड हाउजिङले पनि एक्स्पोमा उपत्यकाका ग्राहकलाई केन्द्रमा राखेर विभिन्न योजना प्रस्तुत गरेको छ। कम्पनीले प्रति धुर डेढ लाखदेखि साढे ४ लाख रुपैयाँसम्मको मूल्यमा जग्गा उपलब्ध गराउन सकिने जनाएको छ।
मंगलपुरको परियोजना भरतपुर-चनौली सडकअन्तर्गत मंगलपुर बजारबाट करिब १५० मिटर दक्षिणमा पर्छ। भरतपुरबाट करिब ५ किलोमिटर दूरीमा रहेको परियोजनामा २० फिटको सडक, खानेपानी, ढल र चार लाइनको बिजुलीको व्यवस्था रहेको कम्पनीले जनाएको छ।
मंगलपुर क्षेत्रको परियोजना कृषि तथा वन विश्वविद्यालय रामपुरबाट करिब ७०० मिटरको दूरीमा छ। मुख्य सडक नजिकको क्षेत्रमा प्लटिङ गरिएको र १९ धुरको घडेरीमा २० बाई ४०.५ फिटको संरचना बनाउन सकिने गरी योजना तयार गरिएको कम्पनीको भनाइ छ।
शिवनगरमा पनि २० फिटको सडक, खानेपानी, चार लाइनको बिजुली र राजमार्गसँग जोडिएको जग्गा उपलब्ध रहेको कम्पनीले जनाएको छ। एक्स्पोका लागि प्रति धुर ३ लाख रुपैयाँ पर्ने जग्गा २ लाख ५० हजार रुपैयाँमा दिने प्रस्ताव राखिएको छ भने २० हजार रुपैयाँमा बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ।
रुद्र रियल स्टेटका म्यानेजिङ डाइरेक्टर इन्जिनियर राजेश न्यौपानेका अनुसार कम्पनीले ग्राहकलाई तुलनात्मक रूपमा सस्तो मूल्यमा जग्गा उपलब्ध गराउने लक्ष्य राखेको छ। उनका अनुसार ५ आनासम्मको जग्गा १५ देखि ४५ लाख रुपैयाँसम्मा किन्न सकिने र फार्म हाउसका लागि करिब १ करोड रुपैयाँबाट परियोजना तयार गर्न सकिने विकल्प पनि छ।

रुद्र रियल स्टेटले करिब १० बिघा क्षेत्रमा प्लटिङ गरेको जनाएको छ। कम्पनीका अनुसार बाहिरी जिल्लामा घर बनाउने, लगानीका लागि जग्गा राख्ने वा भविष्यमा फार्म हाउस सञ्चालन गर्ने ग्राहक यसका लक्षित समूहमा पर्छन्।
जग्गा हेर्न पोखरा जाने ग्राहकलाई प्लेन टिकट!
पोखरामा काम गरिरहेको डाँफे हाउजिङ एन्ड रियल स्टेटले पनि उपत्यकाका ग्राहकका लागि छुट्टै आकर्षणसहितका योजना ल्याएको छ। कम्पनीले पोखरा-४ चिप्लेढुंगामा ३६ लाखदेखि ४० लाख रुपैयाँसम्मका जग्गा बिक्रीका लागि बुकिङ खुला गरेको जनाएको छ।
डाँफेले चिप्लेढुंगाको परियोजनालाई आवासीय कोलोनीका रूपमा विकास गरिरहेको छ। यहाँ २४ वटा आवास निर्माणको क्रममा छन् र बुकिङ गरेको करिब ६ महिनामा ग्राहकले आफ्नो आवास प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ।
कम्पनीले परियोजनालाई भविष्यमा ‘होलिडे होम’को अवधारणामा पनि विस्तार गर्ने योजना बनाएको छ। यसले पोखरालाई स्थायी बसोबाससँगै दोस्रो घर र विश्रामका लागि प्रयोग गर्न चाहने ग्राहकलाई लक्षित गरेको देखिन्छ।
डाँफे हाउजिङले काठमाडौंका ग्राहकलाई आकर्षित गर्न एक्स्पो अवधिमा विशेष सुविधा पनि दिएको छ। कम्पनीका अनुसार काठमाडौंमा रहेका ग्राहकलाई पोखरा जाँदा प्लेन टिकटको व्यवस्था गरिनेछ र जग्गा खरिदमा ५० प्रतिशतसम्म फाइनान्सको सुविधा उपलब्ध हुनेछ।
परियोजनामा २२ देखि ३० फिटसम्मका सडकको पहुँच रहेको कम्पनीले जनाएको छ। खानेपानी, बिजुली, चिल्ड्रेन पार्क, बजार, ग्रोसरी, २४ घण्टे सुरक्षा र बससम्म सहज पहुँचका साथै हिमाली दृश्य हेर्न सकिने वातावरणलाई पनि कम्पनीले मुख्य सुविधा मानेको छ।
डाँफेले यसअघि पोखरा-२५ हेम्जामा १०५ वटा र पोखरा-३३ बाघमारामा पनि प्लट बिक्री गरिसकेको जनाएको छ। कम्पनीका अन्य केही परियोजना पनि विभिन्न स्थानमा निर्माणाधीन अवस्थामा छन्।
नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो २०२६ असोज ४ गतेसम्म संचालन हुनेछ।











