काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ मा आन्तरिक तर्फको राजस्व वृद्धिदर औसत देखिएको छ।
आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ८८ अर्ब १६ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
यो रकम पोहोर दुई महिनाको तुलनामा ११.८२ प्रतिशत बढी हो। १०-१२ प्रतिशतको वृद्धिदरलाई सामान्य मान्ने गरिन्छ। गत आवको साउन-भदौमा ७८ अर्ब ८४ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।
विभागका अनुसार दुई महिनामा आन्तरिकतर्फको भ्याट २३.५३ प्रतिशतले बढेको छ। २०८२/८३ को पहिलो दुई महिनामा २२ अर्ब ६३ करोड ९० लाख रुपैयाँ भ्याट संकलन भएकामा यसपालि २७ अर्ब ९६ करोड ६२ लाख उठेको छ।
भ्याट प्रत्यक्षरुपमा उपभोगमा जोडिन्छ। भ्याटको वृद्धिदरलाई बजार मागमा सुधार हुँदै गएको संकेतका रुपमा बुझ्नुपर्ने विज्ञहरू बताउँछन्।
आयकर २.४३ प्रतिशतले बढेर २६ अर्ब ९८ करोड संकलन भएको छ। पोहोर दुई महिनामा आयकर २६ अर्ब ३३ करोड ८२ लाख उठेको थियो।
बहाल कर पोहोर दुई महिनामा ३५ करोड ९२ लाख उठेकामा यसपालि ४० करोड २८ लाख संकलन भएको छ। यस्तै अन्त:शुल्क संकलन पनि बढेको छ। यसपालि २२ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ अन्त:शुल्क उठेको छ। पोहोर दुई महिनामा १९ अर्ब उठेको थियो।
ब्याज कर भने ६ अर्ब ४० करोडबाट ४.२४ प्रतिशतले घटेर ६ अर्ब १२ करोड ८५ लाखमा सीमित भएको छ। त्यस्तै स्वास्थ्य सेवा कर संकलन १.७५ प्रतिशतले घटेको छ। गत वर्ष पहिलो दुई महिनामा १ अर्ब १४ करोड उठेको स्वास्थ्य सेवा कर अहिले १ अर्ब १२ करोडमात्रै उठेको छ।
शिक्षा सेवा कर पनि घटेको विभागको तथ्यांक छ। पोहोर दुई महिनामा ७५ करोड ७८ लाख शिक्षा सेवा कर संकलन भएकामा यसपालि ६४ करोड ६८ लाख मात्रै उठेको छ।
अन्य शीर्षकको राजस्व भने केही बढेको छ। यो शीर्षकमा पोहोर साउन र भदौमा गरी २ अर्ब १८ करोड उठेकामा यसपालि २ अर्ब ३४ करोड संकलन भएको छ। विभागले मुनाफा, आकास्मिक लाभलगायत शीर्षकलाई अन्यमा राख्ने गरेको छ।











