काठमाडौँ। पृथ्वी राजमार्गमा पर्ने कृष्णभीरबाट गाडीमा काठमाडौंतिर करिब ३० मिनेटको दूरी पार गरेपछि आइपुग्छ शीतल बजार।
खोलाको पारि मलेखु एडभेन्चर रिसोर्टमा धमाधम माटो र लेदो हटाउने काम भइरहेको छ। वारिपट्टी परेवा भीरमा नेपाली सेनाले चट्टान विस्फोट गराएर बाटोको अवरोध खुलाउन काम भइरहेको छ।
चट्टाका कारण सडक विभागको टोलीभन्दा नेपाली सेना नै खटाएर काम भइरहेको छ। सेनाले बुधबार पहिरोको जोखिम रहेको पहाडको थुम्को ब्लास्टिङ गरिरहेको थियो।

ब्लास्टिङ गरे पनि तत्काललाई एकतर्फी मात्र बाटो खोलिएको छ। त्यो ठाउँबाट यात्रा गर्दा जोखिम नै छ। झन्डै सय मिटर सडक क्षति भएको छ।
त्यसैले बिहीबार बिहान ६ बजेबाटकृष्णभीरको बाटो दुईतर्फी नै खुले पनि परेवा भीरमा गाडी जाममा पर्नेछ। त्यसैले कृष्णभीरको बाटो दुईतर्फी खुल्दैमा काठमाडौं उपत्यकाको लाइफलाइनमा आवतजावत सहज छैन।

‘यो दुईतर्फी बाटो बनाउन अझै एक साता लाग्न सक्छ। अहिले सेनाले यहाँ काम गरिरहेको छ,’ मुग्लिन-मलेखु खण्ड निर्माण आयोजना प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर (सीडीइ) सजना अधिकारीले भनिन्।
राज्य संयन्त्रदेखि निर्माण कम्पनीसम्म कृष्णभीरमा केन्द्रित रहेकाले अरु ठाउँमा भएका समस्या झन् डरलाग्दो छ। कृष्णभीर, शितलबजार छिचोलेर अलिक पर आएपछि पहरे खोलाको अवस्था पनि उस्तै छ। सडक किनारमा रहेका घर बाढीले पूरै डुबेका छन्। कुनै बेला चियापसलका कारण गुल्जार हुने ठाउँ गेग्रानले भरिएको छ। त्यहींनेरको सडकलाई खोलाले लगातार हानिरहेको छ।
त्यो सडक भासिने जोखिम देखिन्छ। खोलाले निरन्तर सडकलाई हानिरहेको देखिन्छ। खोला सडकतर्फ सोझिएकै कारण त्यहाँ भासिने जोखिम स्पस्टै देख्न सकिन्छ। त्यहीं निर्माणाधीन पुललाई समेत क्षति पुगेको छ। पुरानो पुलबाट नै सवारी पास हुनुपर्ने अवस्था छ। जसले गर्दा यस ठाउँमा पनि एकतर्फी सवारी मात्र चल्ने छ।
गजुरी गाउँपालिका-२ स्थित चम्बास भन्ने ठाउँमा कल्भर्ट बनाउने काम बुधबार भइरहेको थियो। बुधबार साँझबाट डोजर ल्याएर काम थालिएको छ। तर, ठूलो र लगातार वर्षा भएको खण्डमा यहाँ समस्या आउने देखिन्छ। कृष्णभीरका कारण सवारी साधन आवतजावत रोकिँदा निर्माण कम्पनीलाई सडक विस्तारको काम गर्न अनुकूल अवस्था हुँदा समेत सिन्को पनि भाँचेको देखिएन।

केही दिन बाढीको त्रास भए पनि कृष्णभीरको काम सुरु भएपछि सडकमा बेस हाल्नेदेखि कालोपत्रे गर्नेसम्मका काम गर्न सहज हुने बेलामा हात बाँधेर बसेको देखिएको छ। ‘राज्यको ध्यान कृष्णभीरमा केन्द्रित भयो। राज्यले पनि यताको कामतिर हेर्न भ्याएन। निर्माण कम्पनी समेत सवारी रोकिएको बेलामा काम नगरी हाईसञ्चो गरेर मानेर बसे,’ मलेखुका एक स्थानीयले भने, ‘हुँदाहुँदा भोटेकोशीले ल्याएको लेदो समेत हटाउने काम भएन। कतिपय ठाउँमा हिलैहिलो छ। त्यहाँ गाडीको जाम पर्ने सम्भावना देखिन्छ।’
कृष्णभीर पनि जोखिमपूर्ण
सडक भासिएको १८ दिनमा सडक विभागले कृष्णभीरमा कटिङ गरेर अस्थायी बाटो तयार पारेको छ। तर, कटिङ भएको स्थानमा एकझर पानी पर्दा पहिरो आउने जोखिम छ।
दुई दशक अगाडि पहिरोले देशकै समस्या बनेको कृष्णभीर भोटेकोशी बाढीपछि त्यही पीडा दोहोरियो। खोलाले सडकको सय मिटर भाग नै बगाएको छ। त्यसपछि कृष्णभीरतिरको भाग कटिङ गरेर बाटो खुलाइएको छ। यसले पहिलेको समस्या फेरि बल्झिने चिन्ता छँदैछ।
कटिङ गर्दा केही भागमा कडा चट्टानका कारण बलियो देखिए पनि केही भाग माटोको कारण कमजोर छ।
त्यस्तै कृष्णभीरको सडक खसेको तल्लो भागमा पनि पानीको बहाव नघटेकाले थप कटान हुन नदिन कुनै वैकल्पिक व्यवस्था गरिएको छैन। नदीमा पानी बढेको खण्डमा तलबाट नै सडकतर्फ कटान गर्ने जोखिम उतिकै छ।
‘यो अस्थायी सडक हो। हामीले यसमा छलफल गरेका छौं। पानी कम नभएसम्म तत्काल तल्लो भागमा केही गर्ने अवस्था छैन,’ योजना प्रमुख अधिकारीले भनिन्।
विभागले अहिले नागढुंगादेखि मुग्लिनसम्म तीन वटा भाग छुट्याएर काम गरिरहेको छ। नागढुंगाको पातलेबन नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। तर, वैकल्पिक रुपमा नागढुंगा सुरुङ मार्ग तयारी अवस्थामा भएकाले समस्या आएको छैन। पेट्रोल बोकेका र मोटरसाइकलका लागि भने सुरुङ मार्ग वैकल्पिक बन्न सक्दैनन्।
















