अर्थमन्त्री वाग्ले बिहीबार भारत प्रस्थान गर्ने, व्यावसायिक छलफल र प्राज्ञिक कार्यक्रममा सहभागी हुने

बिजमाण्डू
२०८३ भदौ ३१ गते २०:५६ | Sep 16, 2026
अर्थमन्त्री वाग्ले बिहीबार भारत प्रस्थान गर्ने, व्यावसायिक छलफल र प्राज्ञिक कार्यक्रममा सहभागी हुने


काठमाडौं। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले तीन दिने भारत भ्रमणमा जाने भएका छन्। वाग्लेको भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

Vigo
GBIME
Tata

६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वाग्ले बिहीबार भारत प्रस्थान गर्नेछन्। टोलीमा अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनेछन्।

विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ।

वाग्लेले बिहीबार नै भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। शुक्रवार वाग्लेले विदेशमन्त्री डा। एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा वाग्ले सहभागी हुनेछन्। वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा पनि सहभागी हुनेछन्।

शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुने कार्यक्रम छ। शनिवार नै वाग्ले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ।