एनपीएलमा अर्को ठूलो नाम, अस्ट्रेलियन ब्याटर डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट खेल्ने

बिजमाण्डू
२०८३ भदौ ३० गते १३:४२ | Sep 15, 2026
एनपीएलमा अर्को ठूलो नाम, अस्ट्रेलियन ब्याटर डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट खेल्ने


काठमाडौं। अस्ट्रेलियन ब्याटर डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। एनपीएल फ्रेन्चाइज गोर्खाजले आज वार्नरलाई अनुबन्ध गरेको घोषणा गरेको हो।

Vigo
GBIME
Tata

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गते काठमाडौंमा सुरु हुँदैछ। यसका लागि फ्रेन्चाइजहरुले धमाधम विदेशी खेलाडी घोषणा गरिरहेका छन्।

पहिलो र दोस्रो संस्करणमा खासै राम्रो गर्न नसकेको काठमाडौंले यसपाला भने धमाधम टेस्ट राष्ट्रका अनुभवी खेलाडी अनुबन्ध गरिरहेको छ। यसअघि भारतका केएस भरत र श्रीलंकाका सहान अराचचिगेलाई अनुबन्ध गरिसकेको छ। यो टोली राष्ट्रिय टोलीका प्रमुख पेस बलर करण केसीको कप्तानीमा रहनेछ।

एनपिएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्मका सबैभन्दा ठुला नाममध्येका एक हुन्। अस्ट्रेलियाले २०१५ र २०२३ मा एकदिवसीय विश्वकप र २०२१ मा टी-२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए। २०२१ को टी-२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ मा चुनिएका थिए।

‘डेबिड वार्नरलाई एकै रातको प्रयासमा ल्याइएको होइन, यसका लागि महिनौसम्म छलफलहरु भएका थिए र यसमा सहभागी सबैको कुरामा चित्त बुझाउन, धैर्य र विश्वास गराउन महिनौं लाग्यो। तर उनी स्तरको खेलाडीले काठमाडौंको प्रतिनिधित्व गर्ने र टियु मैदानमा खेल्ने सम्भावनाले हरेक प्रयासको मुल्य बनायो,’ काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाले भने।

वार्नरले अस्ट्रेलियाबाट ११२ टेस्ट, १६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ११० टी–२० अन्तर्राष्ट्रिय खेल्दै ४९ शतकसहित झन्डै १९ हजार अन्तर्राष्ट्रिय रन बनाएका छन्। वार्नरले १४२ माथिको स्ट्राइक रेटमा ३ हजार २ सय ७७ रन बनाएका थिए। उनको नाममा ८ हजार ७ सय ८६ टेस्ट र ६ हजार ९ सय ३२ एकदिवसी अन्तर्राष्ट्रिय रन रहेको छ। वार्नरले पछिल्लो पटक अस्ट्रेलियाबाट सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा खेलेका थिए।

उनले २०१९ मा पाकिस्तानविरुद्ध एडिलेडमा आउट नभई ३३५ रन बनाएका थिए। अस्ट्रेलियाली खेलाडीहरुको टेस्ट क्रिकेटमा यो दोस्रो उच्च स्कोर हो। ३९ वर्षे वार्नरले आफुलाई विश्वको उत्कृष्ट ओपनरको रुपमा आफुलाई उभ्याएका थिए। वार्नरले सबै खाले टी–२० मा ४३९ खेल खेल्दै १४० माथिको स्ट्राइकर रेटमा १४ हजार भन्दा बढि रन बनाएका छन्।

इन्डियन प्रिमियर लिग (आईपिएल) मा उनलाई तत्कालिन दिल्ली डेयरडेभिल्सले सन् २००९ मा लिएको थियो र २०१३ मा उनी दिल्लीमै रहे। २०१४ मा उनी सनराइजर्स हैदराबाद लागे र २०१५ मा कप्तान बने। २०१६ सनराइजर्स हैदराबादलाई आईपिएल च्याम्यिन बनाएका थिए। उनले आईपीएलको ७ सिजनमा ५०० भन्दा बढि रन बनाए २०१५, २०१७ र २०१९ मा उनी आईपिएलको सर्वाधिक रनकर्ता थिए। उनले सनराइजर्स हैदराबादबाट आईपिएलमा २०२१ सम्म खेले। २०२२ मा वार्नरलाई पुनः दिल्ली क्यापिटल्सले लिएको थियो।