एटीएममा १०० का नोट: राष्ट्र बैंकलाई पनि भाइरल हुने मनोगत रोग, ‘कसैसँग छलफल छैन’

बिजमाण्डू
२०८३ भदौ ३० गते १८:०७ | Sep 15, 2026
एटीएममा १०० का नोट: राष्ट्र बैंकलाई पनि भाइरल हुने मनोगत रोग, ‘कसैसँग छलफल छैन’


काठमाडौं। आफ्नो प्राथमिक काम छाडेर नेपाल राष्ट्र बैंक पनि लोकप्रिय हुने बाटोमा दौडिएको छ।

Vigo
GBIME
Tata

न जनस्तरबाट माग, न त अर्थतन्त्रलाई नै योगदान पुग्ने, राष्ट्र बैंकले लोकप्रियताका लागि एटीएमबाट १०० रुपैयाँ दरका नोट निकाल्न मिल्ने निर्णय गरेको छ।

उसले सोमबार नेपाल बैंकर्स संघमार्फत सबै वाणिज्य बैंकहरुलाई एटीएमबाट १०० दरका नोट निकाल्न मिल्ने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ।

यसले बढाउने खर्च र जनशक्ति, सञ्चालन समस्यालाई बिर्सिएर राष्ट्र बैंकले कुन उद्देश्य र आवश्यकता पूरा गर्न १०० दरका नोट एटीएमबाट झिक्न मिल्ने व्यवस्था गर्न भनेको हो खुलाएको छैन। गभर्नर कार्यालयको ठाडो निर्देशनमा अध्ययन, अनुसन्धान र व्यावहारिक पक्ष केही पनि नहेरी १०० दरका नोट झिक्न मिल्ने व्यवस्था गर्न निर्देशन जारी गरिएको छ।

दुई दशकअघि एटीएमबाट १०० दरका नोट झिक्न मिल्थ्यो। त्यहीबेला यसको सञ्चालन खर्च र व्यवहारिक पक्ष नमिलेपछि विस्थापन गरिएको थियो। डिजिटल प्रविधिका कारण कागजी नोटकै प्रयोग कम हुँदै गएका बेला राष्ट्र बैंक भने उल्टो बाटो हिँडेको छ।

‘अहिले सरकार पनि भाइरल हुने बाटोमा हिंडिरहेको छ,’ राष्ट्र बैंककै एक कार्यकारी निर्देशकले भने, ‘राष्ट्र बैंकको उच्च व्यवस्थापनलाई पनि भाइरल हुन मन लाग्यो होला।’ उनका अनुसार, कुनै हिसाबले व्यावहारिक नहुने बाटोमा राष्ट्र बैंक जस्तो निकाय हिँड्नु हुँदैनथ्यो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पत्रमा बैंकरहरुको राय सुझावका आधारमा १०० दरका नोट एटीएमबाट झिक्न मिल्ने व्यवस्था गर्न लागेको भनेको छ। तर, यसप्रति बैंकरहरु नै असन्तुष्ट छन्। धेरै बैंकरलाई त कुन बैंक तथा वित्तीय संस्थासँग राष्ट्र बैंकले कुराकानी गर्‍यो भन्नेसमेत थाहा छैन। 

१०० दरका नोट एटीएममा राख्न नमिल्ने होइन, प्राविधिक रुपमा मिल्छ। तर, कुनै पनि काम गर्न मिल्छ भन्ने आधारमा मात्र गरिने होइन,’ बैंकर्स संघका एक कार्यकारी सदस्यले भने, ‘त्यसका लागि आवश्यक स्रोत, लागत, समय, सञ्चालन असर र त्यसबाट प्राप्त हुने वास्तविक लाभ समेत हेर्नुपर्छ।’

त्यो केही पनि विश्लेषण नगरी उच्च व्यवस्थापनले मनोगत ढंगबाट लोकप्रियतावादी निर्णय गरेको बुझाइ बैंकरहरुको छ।

बैंकरहरुका अनुसार, दसैं तिहारमा १००-५० दरका नोटको माग उच्च हुन्छ। पोहोर-परार यी नोट मागे जति दिन नसक्दा सटही सीमा नै तोकिएको थियो। अब एटीएमबाट १०० दरका नोट पाइने भएपछि लाइन लामो हुन्छ। यसबाहेक ५०० र १००० दरका नोट राखिँदै आएको एटीएममा १०० को नोट राख्न थालेपछि थोरै रकमले धेरै ठाउँ लिन्छ। 

हाल नेपालमा सञ्चालनमा रहेका करिब ९५ प्रतिशत एटीएममा दुईवटा नगद राख्ने भाँडो प्रयोग भइरहेका छन्। सामान्यतः एउटा भाँडोमा १००० र अर्कोमा ५०० दर वा दुवै भाँडोमा १००० दरका नोट राखेर एटीएम सञ्चालन गरिन्छ।

अब १०० दरका नोट पनि राख्ने हो भने तेस्रो भाँडो आवश्यक पर्न सक्छ। तर, अहिले सञ्चालनमा रहेका सबै एटीएममा तत्कालै तेस्रो भाँडो थप्न सकिँदैन। दसैंका लागि मात्र अल्पकालीन व्यवस्था गर्न खोज्दा बैंकले खरिद प्रक्रिया पूरा गर्दा गर्दै दसैं नै सकिन्छ।

त्यसैगरी एटीएममा तीनवटै दरका (१००, ५०० र १०००)लाई सपोर्ट गर्ने गरी प्रविधिमा पनि परिमार्जन गर्नु पर्ने हुन्छ। अर्थात ५०० र हजार दरका नोटजस्तै १०० दरका नोट पनि पढ्न सक्ने प्रविधि बनाउनु पर्छ। यसमा पनि केही समय र लागत लाग्छ। 

‘मुख्य कुरा १०० दरका नोट एटीएमबाट निकाल्न पाइएन भन्ने माग कहाँबाट आयो? अर्थतन्त्रमा १०० दरका नोट एटीएमबाट निस्किँदा के फाइदा गर्छ? १०० दरका नोट ननिस्किएर अर्थतन्त्रमा समस्या पो आयो कि,’ ती कार्यकारी निर्देशकले भने, ‘उच्च व्यवस्थापन लोकप्रियतातिर लाग्न खोज्दा केटाकेटी पाराको निर्णय भयो। यो जति चाँडो सच्यायो, राष्ट्र बैंक र नेतृत्वको इज्जत कायम रहन्छ।’

बैंकरहरुका अनुसार एटीएमको एउटा भाँडोमा प्राविधिक रूपमा अधिकतम करिब २,००० वटा नोट राख्न सकिन्छ। त्यसैले अहिले दुईवटै भाँडोमा ठूला दरका नोट राखेर अधिकतम करिब ४० लाखसम्म नगद लोड गरिन्छ। १०० दरका नोट राख्ने बित्तिकै त्यो क्षमता ४ लाखमा झर्छ। 

‘यसको अर्थ एटीएम छिटो खाली हुन्छ, क्यास पुनर्भरण दर बढेर जान्छ। यसले कर्मचारीको काम बढेर जान्छ। नगद रित्तिने दर बढी हुँदा सेवा चाँडोचाँडो अवरुद्ध हुन्छ,’ ती बैंकरले भने।

बैंकरका अनुसार, १०० दरका नोटको संख्या धेरै बढाउँदा नगद अड्किने, मेसिन चाँडो आउट हुने दर बढेर जान्छ। यसबाहेक नोट र मेसिन प्रयोग बढी हुँदा यसको टिक्ने क्षमतामासमेत ह्रास आउँछ। 

‘राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रश्रय दिनु पर्नेमा कागजी नोट, त्यो पनि सानो दरकोलाई प्राथमिकता दिनुले उसले कुन दिशातिर समाजलाई डोर्‍याउन खोजेको प्रस्ट हुन्छ,’ ती बैंकरले भने, ‘डिजिटलबाट कागजीमा जानु पर्छ नै भनेको होला।’

बैंकरका अनुसार, १०० दरका नोटले एटीएममा भिड पनि बढाउने छ। उदाहरणका लागि, कसैलाई १० हजार बराबरका १०० दरका नोट चाहिएको छ भने एटीएममा उसले एकपटकमै १०० दरका सम्पूर्ण रकम पाउने सम्भावना हुँदैन।

त्यस अवस्थामा मानिसले पटक-पटक कारोबार गर्नुपर्ने अवस्था आउन सक्छ। परिणामस्वरूप एटीएमको लाइन बढेर जान्छ। अहिले बैंकहरुले यसै पनि एटीएम पूर्वाधारमा लगानी गर्न छाडेका छन्। उनीहरुले डिजिटल प्रणालीमै लगानी बढाइरहेका छन्। राष्ट्र बैंक अहिले आएर उल्टो बाटोमा हिंड्दा बैंकरलाई असजिलो भएको छ। 

राष्ट्र बैंकले अहिले दसैंका लागि भनेर १०० दरका नोट निकाल्ने सुविधा गर्न भनेको हो। तर, दशैंमा अधिकांश ग्राहक १०० दरका नोट मात्र साट्न जाने होइनन्। १०० दरका नोट एटीएमबाट निकाले पनि ५०, २०, १० र ५ का दरका नोट लिन शाखा नै पुग्नु पर्छ। 

‘कुनै पनि नियामकीय निर्देशन जारी गर्नुअघि त्यसको प्राविधिक सम्भाव्यता, लागत, कार्यान्वयन अवधि, सञ्चालन जोखिम, अपेक्षित प्रभाव र प्रक्षेपित उपलब्धिको पर्याप्त अध्ययन हुनु आवश्यक छ,’ राष्ट्र बैंकका ती कार्यकारी निर्देशकले आफ्नै अड्डाले जारी गरेको निर्देशन किन गलत छ भन्ने सन्दर्भमा तर्क दिए, ‘अध्ययन केही छैन। नेतृत्वलाई लाग्यो भन्दैमा हावादारी निर्देशन जारी भयो। यो केटाकेटीपन भयो। नेतृत्वले परिपक्वता देखाउनु पर्छ।’