व्यापारिक चापसँगै कोरला नाकामा तनाव: सशस्त्रले प्रहरी थप्दै, राजस्व दैनिक दुई अर्ब

सविन ढकाल
२०८३ भदौ ३० गते २२:०९ | Sep 15, 2026
व्यापारिक चापसँगै कोरला नाकामा तनाव: सशस्त्रले प्रहरी थप्दै, राजस्व दैनिक दुई अर्ब


काठमाडौं । भोटेकोशी बाढीपछि तातोपानी नाका पनि बन्द गरिएपछि चीनसँगको एक मात्रै नाका कोरलामा सामान ओसारपसारको चाप ह्वात्तै बढेको छ। चापका कारण सामान ल्याउन हम्मेहम्मे भइरहेको छ।

Vigo
GBIME
Tata

आइतबार मात्रै कोरला नाकामा सामानलाई लिएर विवादले चर्को रुप लियो। चीनतर्फ पुगेर सामान राखेर ल्याइएका दुई वटा कन्टेनरको अगाडिको भाग कुच्चिएपछि व्यवसायी र स्थानीय चालकबीच विवाद सुरु भएको थियो। कोरला नाकाबाट चीनतर्फको २०० मिटरमा चीनसम्म जाने अस्थायी पास भएका मुस्ताङका बासिन्दामात्र जान पाउँछन्। उनीहरुसँगै व्यवसायीको विवाद भएको हो।

विवादले चर्को रुप लिन लागेकै बेला प्रहरीले हस्तक्षेप गरेर साम्य पारेको थियो। त्यसअघि पनि सोही नाकाबाट कन्टेनर कोरिएर आएका घटना भएको थियो।

कोरिएर आएका कन्टेनरको क्षति चालकले व्यहोर्नुपर्ने कन्टेनर धनीले माग गर्न थालेका छन्। पास भएका स्थानीय चालक करिब ६० जना छन्। उनीहरुले चीनको भन्सारबाट नेपालतर्फ कन्टेनर ल्याएको चार हजार रुपैयाँ लिने गरेका छन्।

अहिले त्यो नाकामा दैनिक २०० कन्टेनर आउने गरेका छन्। तर, जाँचपास भने दैनिक ५० को हाराहारीमा हुने गरेको छ।

चाडपर्वका कारण पनि सामान बढी हुने भएकाले कन्टेनर धेरै भएका हुन्। यो नाका सहजीकरणका लागि सशस्त्र र जनपथ प्रहरी गरेर ४५ जनाको टोली छ। तर, चाप बढेपछि अब त्यो टोलीले मात्रै व्यवस्थापन गर्न कठिन हुने भएपछि थप प्रहरी माग गरिएको छ।

‘अहिले चाप बढेको छ। आवश्यक परेको खण्डमा गण र गुल्मबाट पनि थप जनशक्ति पठाउन सक्ने व्यवस्था गरेका छौं,’सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी नेत्रबहादुर कार्कीले भने।

कोरला नाकाको सीमा सुरक्षाको लागि २०७६ मंसिरमा लोमान्थाङ गाउँपालिका १ स्थित नेचुङमा सशस्त्र प्रहरीको बिओपी (बोर्डर आउट पोस्ट) स्थापना गरिएको थियो। त्यहाँ प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली कार्यरत रहेको छ। यो कार्यालयबाट १३ किलोमिटरको दुरीमा चिनियाँ नाका रहेको छ।

प्रत्येक दिन सशस्त्रका ५ जना टोली बोर्डरमा खटिने गरेका छन्। उनीहरूको लागि त्यहाँ उभिने बाहेक बस्ने कुनै ठाउँ छैन। ४७०० मिटरभन्दा अग्लो भेगमा भएकाले सो स्थान अत्याधिक चिसो छ।

नाकामा मात्र होइन सशस्त्र प्रहरी विपदमा पनि खटिनुपर्छ। केही दिनअघि मुस्ताङमा गएको भूकम्पबाट त्यहाँ केही घरहरूमा क्षति पुगेपछि त्यतातिर पनि ध्यान केन्द्रित गर्नु परेको सशस्त्रले जनाएको छ।

सवारीको चाप र सडकको अवस्थाले पनि थप सकस थपिएको छ। जोमसोमदेखि १२० किलोमिटर कोरला नाकासम्म स्तरोन्नति गरेर दुई लेनको सडक संचालनमा रहेको छ। कागबेनीदेखि कोरलासम्म नै कच्ची सडक रहेको छ। कन्टेनरको संख्या बढ्दा बाटोमा विभिन्न समस्या आउने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामचन्द्र तिवारीले बताए।

‘धेरै सवारी गुडेपछि समस्या आउने गरेको छ। कच्ची सडक र बेला बेला माथिबाट लेदो र पहिरो आउँदा केही घण्टा सवारी रोकिने अवस्था पनि हुनेगर्छ,’डिएसपी तिवारीले भने।

तर, कच्ची सडक र सवारी चापको कारण समस्या पर्ने गरेको छ। कार्तिकदेखि फागुनसम्म हिउँको कारण थप यात्रा कठिन हुने गर्छ।

अध्यागमन कार्यालय छ, भिसा छैन

भोटेकोशी बाढीपछि कोरला नाकामा कन्टेनरको चाप बढे पनि भिसा नै लिएर चीनतर्फ जानेको संख्या भने शून्य रहेको छ। अध्यागमन विभागका अनुसार भदौ १० गतेदेखि २९ गतेसम्म एक जनाले पनि अध्यागमन अनुमति नलिएको विभागका निर्देशक टिकाराम ढकालले बताए।

‘अहिलेसम्म हाम्रो रेकर्डमा स्थानीयलाई दिने पास बाहेक अन्यको भिसा लिएको देखिएको छैन,’ निर्देशक ढकालले भने।

सशस्त्र प्रहरी पोस्ट, भन्सार कार्यालय र अध्यागमन कार्यालय पनि रहेको छ। ७ जना कर्मचारीको दरबन्दी समेत छ। तर, मानिसको आवतजावत नहुँदा अधिकांश समय कर्मचारी जोमसोममा नै बस्ने गरेका छन्। चीनले नेपालीहरुको लागि समूहमा भिसा दिने गरेका छन्। नाकामा सुरक्षा निकायदेखि भन्सारसम्मका कर्मचारी कम भएकाले व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ।

कोरला भन्सार प्रमुख विदुर चुडालका अनुसार अहिले भन्सार चार गुणाले बढेर दैनिक दुई अर्ब संकलन हुन थालेको छ। यसअघि दैनिक ५० करोडको हाराहारीमा भन्सार राजस्व उठ्ने गर्थ्यो। उनका अनुसार सामानको चाप बढेपछि यार्ड समेत भरिन थालेको छ।