शनिबारको फाइनल खेलमा यूएईलाई हराउन सके नेपालले दोस्रो पटक खेल्नेछ एसिया कप!

बिजमाण्डू
२०८३ भदौ २५ गते १३:०१ | Sep 10, 2026
शनिबारको फाइनल खेलमा यूएईलाई हराउन सके नेपालले दोस्रो पटक खेल्नेछ एसिया कप!
नेपाली क्रिकेट टोली। फाइल फोटो: क्यान


काठमाडौं। नेपाली क्रिकेट टोली शनिबार यूएईलाई हराउन सके दोस्रो पटक एसिया कपमा पुग्नेछ।

Vigo
GBIME
Tata

एसीसी प्रिमियर कपमा आज ओमनलाई हराउँदै फाइनल पुगेको नेपालले अब यूएईलाई हराउन सके एसिया कप खेल्ने अवसर पाउने छ। पहिलो पटक सन् २०२३ मा एसिया कप खेलमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले प्रिमियर कपको च्याम्पियन टोलीले एसिया कप खेल्न पाउने जनाएको छ। नेपाल फाइनल पुगिसकेकाले अब शनिबार नेपालका लागि महत्त्वपूर्ण दिन हुनेछ।

त्यस्तै, प्रिमियर कपमा शीर्ष तीन टोलीले एसीसी इमर्जिङ एसिया कप खेल्ने हुनाले नेपालले यो प्रतियोगिता खेल्ने भने पक्का भएको छ। फाइनल पुगेका नेपाल र यूएई यो प्रतियोगिताका लागि छनोट भइसके पनि तेस्रो स्थानका लागि ओमन र हङकङ भिड्नेछन्।

आजै सम्पन्न अर्को सेमिफाइनलबाट यूएईले पनि फाइनलमा स्थान बनाएको हो। समूह ‘ए’ उपविजेता हङकङलाई ७ विकेटले हराएर यूएईले फाइनलमा स्थान बनाएको हो।

आजको दुवै सेमिफाइनल खेल ‘लो स्कोरिङ’ रहे। पहिलो सेमिफाइनलमा नेपालले दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याउँदा ओमन ६० रनमै अलआउट हुँदा ८७ रनको हार ब्यहोर्‍यो।

दोस्रो सेमिफाइनलमा सुरुवाती ब्याटिङ गरेको हङकङ ७० रनमै समेटिएको थियो। यो लक्ष्य यूएईले ११.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।