कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रोङ खोलामा एक्कासी पानी बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपिल गरेको छ।
मंगलबार साँझ ६:३० बजेदेखि खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए।
पहिरो वा अन्य के कारणले कुन स्थानमा खोला थुनिएको भन्ने यकिन हुन नसकेको केसीले बताए।
किम्रोङ खोला मोदी खोलामा आएर मिसिने भएकाले कास्की र पर्वतको नदी तटीय क्षेत्र वीरेठाँटी, नयाँपुललगायतका क्षेत्रमा उच्च सतर्कताका लागि गाउँपालिकाले अपिल गरेको छ।
किम्रोङ खोलामा गत असार २८ गते पनि बाढी आएको थियो। रासस











