काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासको नेतृत्व गर्न मेगन बोल्डिन काठमाडौं आइपुगेकी छन्।
मेगनले आगामी केही महिना कार्यवाहक अमेरिकी राजदूतका रुपमा काम गर्नेछिन्। साथै, नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकहरुको सहयोग गर्न नियोग उपप्रमुख स्कट अर्बमसँगको सहकार्य गर्नेछिन्।
उनले विपद् प्रतिकार्य र उद्धारमा सहयोग गर्ने अमेरिकी दूतावासको कार्यको नेतृत्व गर्नेछिन्। स्कट अर्बमले यसअघि कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
मेगन बोल्डिन ढाकास्थित अमेरिकी दूतावासबाट आएकी हुन्। उनी सन् २०२४ को अगस्टदेखि त्यहाँको नियोग उपप्रमुखका रुपमा कार्यरत थिइन्।
वरिष्ठ परराष्ट्र सेवाको करिअर सदस्य रहेकी मेगनसँग संकट व्यवस्थापन, कूटनीति र नेतृत्वसम्बन्धी अनुभव रहेको दूतावासले जनाएको छ। युक्रेन, इराक, बंगलादेश र वासिङ्टनस्थित अपरेसन्स सेन्टर लगायतमा उनले काम गरेकी छन्।
भदौ १० को बाढीपछि राहत तथा उद्धारका प्रयासहरु जारी रहँदा नेपालमा उनको आगमनले नेपाल सरकार र साझेदारहरूसँग निकट रही काम गर्ने अमेरिकाको दीर्घकालीन प्रतिबद्धतालाई दर्साएको दूतावासले जनाएको छ।











