बटर किलोमै ४०० रुपैयाँसम्म बढ्यो, घिउको भाउ किलोकै १४ सय पुग्यो, पाउडर पनि आकासियो



सरला सुवेदी
२०८३ भदौ २४ गते ०६:१९ | Sep 9, 2026
बटर किलोमै ४०० रुपैयाँसम्म बढ्यो, घिउको भाउ किलोकै १४ सय पुग्यो, पाउडर पनि आकासियो
फाइल तस्बिर।


काठमाडौं। डेरी उद्योगले उत्पादन कम भएको मौका छोप्दै बटर (नौनी)को भाउ किलोमै ४ सय रुपैयाँसम्म बढाएका छन्। वालेन्द्र शाह सरकार आएपछि भारतबाट कच्चा दूध आउन कम भएकै कारण बटरको उत्पादन कम भएको मौका छोप्दै डेरी उद्योगले भाउ बढाएका हुन्।

Vigo
GBIME
Tata

‘बालेन सरकार आएपछि भारतबाट आउने कच्चा दूध आउन कम भयो। दूध कम हुनेवित्तिकै बटरको उत्पादन घट्यो,’ एक डेरी संचालकले बिजमाण्डूसँग भने, ‘उत्पादन कम तर माग बढी हुनेवित्तिकै भाउ बढ्न थालेको हो।’

एक महिनाअघिसम्म चितवनमा ७ सय रुपैयाँ किलोमा नौनी पाइन्थ्यो। अहिले किलोको ११ सय रुपैयाँ भएको छ। नेपाल डेरी (एनडिज)ले केही दिनअघि बटर भ्याटबाहेक किलोको १ हजार ३० रुपैयाँमा किनेको थियो।

ती संचालकका अनुसार अहिले घिउ नै किलोको १४ सय रुपैयाँसम्म बिक्री भइरहेको छ। एक महिनाअघिसम्म घिउको भाउ १२ सयको हाराहारीमा थियो।

राजधानी डेरीका संचालक राजकुमार दाहालले बटरको भाउ एक महिनाकै बीचमा ४ सय रुपैयाँ प्रति किलोको हाराहारीमा बढेको जानकारी दिए।

‘स्टक कम भएकाले आफ्नो बाहेक अरुलाई बटर दिन सक्ने अवस्था छैन। एकैपटक धेरै परिमाण खरिद गर्न पनि पाउने अवस्था छैन,’ उनले बटर अभावका बारेमा स्पष्ट रुपमा भने।

अहिले भाटभटेनी, बिगमार्ट लगायतले पनि पर्याप्त घिउ पाउन सकेका छैनन्। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले डेरी उद्योगसँग बटरको स्टक कम भएपछि भाउ उकालो लागेको स्वीकार गरे।

‘मागअनुसार बटर उत्पादन हुन सकेन। त्यसैले भाउ बढ्न थालेको हो,’ उनले भने, ‘चाडपर्व सुरु हुन लागेपछि पछिल्लो १५ दिनमा झन् बढेको छ।’

यही हिसाबले बढ्ने हो भने बटरसँगै घिउको मूल्य तीजकै बेलामा १४ सय रुपैयाँ पार गर्ने देखिएको छ। सीताराम गोकुल मिल्सका संचालक सुमित केडिया उद्योगहरूमा बटर घिउको स्टक आउट भइसकेको जानकारी दिए।

‘अहिले तपाईँलाई धेरै परिमाणमा बटर चाहियो भनेर किन्न नपाउने अवस्था छ। बटर नभएपछि घिउ पाउने सम्भावना कम भइहाल्यो,’ उनले भने, ‘चाडपर्वमा झन् समस्या हुने देखिएको छ।’

दुग्ध विकास संस्थानले भने अहिले पनि बटर किलोको ९ सय र घिउ १२ सय रुपैयाँ किलोमा बेचिरहेको दाबी गरेको छ। संस्थानका सूचना अधिकारी निलकण्ठ गौतमले दुई महिनाअघि मूल्य बढाएको जानकारी दिँदै अहिले भने यथावत रहेको दाबी गरे। गौतमले संस्थानसँग सय टन बटर स्टक रहेको बताए।

पाउडर दूध पनि आकासियो

बटर मात्रै नभई अहिले पाउडर दूधको मूल्य पनि आकासिएको छ। केही समयअघिसम्म २५ किलोको साढे १५ हजार रहेको पाउडर दूध अहिले २० हजार रुपैयाँ पुगेको छ। भाउ आकासिएपछि केही पाउडर दूध उत्पादन गर्दै आएका डेरीले प्रतिवद्धता अनुसार दिन छाडेका छन्।

एक डेरी संचालकका अनुसार आफूले ७५ बोरा पाउडर दूध किन्न पहिला नै पैसा दिएपनि नपाएको जानकारी दिए।

‘मैले ७५ बोराको पैसा पहिला नै दिइसकेको थिए। तर, त्यो उद्योगले मलाई दिन नसक्ने जानकारी गराएको छ,’ ती संचालकले उद्योगको नाम उल्लेख नगर्ने शर्तमा भने, ‘मेरो मात्रै होइन अर्को उद्योगको पनि ७ सय बोरा दूध पाउन सकेको छैन।’

उनका अनुसार कच्चा दूध कम भएकै कारण पाउडर उत्पादनमा असर गरेको हो।

‘हामीसँग कच्चा दूध कम भएकाले सबै क्षेत्रमा असर गरेको हो,’ उनले भने, ‘दूधमा हामी आत्मनिर्भर थिएनौं। भारतबाट आउन रोकिँदा अभाव भोग्यौं।’

किन रोकियो कच्चा दूध?

नेपालले दूध र दूधजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्धका बाबजुद भारतबाट अनौपचारिक माध्यमबाट कच्चा दूध आइरहेको थियो। अनौपचारिक रुपमा विभिन्न सीमा क्षेत्रमा मोटरसाइकल र साइकलमा बोकेर भारतबाट दूध आइरहेको थियो।

अनौपचारिक माध्यमबाट दूध आउने गरेकाले नै धेरै ठूला डेरी उद्योगले सीमा क्षेत्रमा चिलिङ सेन्टर समेत राखेका छन्। बालेन सरकार आएपछि सीमा क्षेत्रमा कडाइ गर्दै मोटरसाइकल र साइकलमा ल्याउने गरेको दूध रोकियो। योसँगै ठूला डेरी उद्योगको बटरदेखि पाउडर दूधसम्म उत्पादन कम भयो।

‘हेर्नुस् जाडोको समयमा यहाँ उत्पादन बढी भएर भारततर्फ नेपालको केही दुध जान्छ। गर्मीको बेलामा यहाँ उत्पादन कम भएपछि उतैबाट आउने हो,’ एक डेरी संचालकले भने, ‘यो पटक सय रुपैयाँको सामान ल्याउँदा पनि कडाइ गर्दा कच्चा दूध आउन सकेन। त्यसले उत्पादन कम भएर अभाव भयो।’

उनका अनुसार सिराहा, सप्तरी, नवलपरासी, नेपालगंज लगायतका धेरै क्षेत्रमा भारतबाट दूध आउने गर्छ।

नेपालका लागि अवसर

भारतबाट दूध आउन बन्द हुँदा तत्काल मूल्यमा चाप परेपनि यसलाई अवसरको रुपमा अगाडि बढाउन सकिने उद्योगी बताउँछन्। दूधको आयात खुला गर्नुभन्दा पशुपालनमा जोड दिन सकिएमा देशको अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्नेछ।

‘हामीले दूध र दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएका छौं। अहिले अभाव भएर खोल्नेभन्दा यसलाई अवसरको रुपमा बिल्डअप गर्न सकिन्छ,’ नेपालगंजमा रहेको एसके डेरी उद्योगका संचालक सरोज पाण्डेले भने, ‘हामीले पशुपालनमा जोड दिएर उत्पादन बढाउनेतर्फ सरकारले नीतिगत तहमा सहजीकरण गर्नुपर्छ।’

उनी सरकारमार्फत ऋणमा दिइरहेको ब्याज सहुलियत राम्रो नीतिगत डिपार्चर रहेको बताउँदै यस्तै अन्य किसानलाई नै प्रत्यक्ष प्रभाव पार्ने योजनाहरू ल्याउन सुझाव दिन्छन्।

‘दुग्धजन्य पदार्थ बन्द गर्दा अहिले नेपालमै पाउरोटीमा हाल्ने टेबुल बटरहरू उत्पादन भइरहेको छ। चिज उत्पादन पनि विभिन्न थरी भइरहेका छन्,’ उनले भने, ‘यसले हामीलाई बिस्तारै डेरी उद्योगको औद्योगिकरणमा लगिरहेको छ।’