काठमाडौं । बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनः स्थापनाका लागि निर्माण कम्पनी शर्मा एण्ड कम्पनी तथा संजीवनी ग्रुपको तर्फबाट १ करोड ५१ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ।
अर्थ मन्त्रालयमा मंगलवार शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, संचालक सौरभ शर्मा एवं संजीवनी ग्रुपका संचालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले प्रभावित सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपको तर्फबाट सहयोग रकम प्रदान गरिएको जनाइएको छ।
शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपले बाढीका कारण शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै विपदबाट प्रभावित व्यक्ति र समुदाय प्रति सहानुभूति व्यक्त गरेको छ। कम्पनीले प्रभावितहरुको उद्धार एवं पुर्नस्थापनालाई उच्च प्राथमिकतामा राख्न सरकार समक्ष आग्रह पनि गरेको छ।










