आयोजनाभित्र फसेकालाई उद्धार गर्न नसकेपछि सेनाले सातौं दिनमा भन्यो- तपाइँहरुको टोली खटाउनुस्



बिजमाण्डू
२०८३ भदौ १६ गते १४:३१ | Sep 1, 2026
आयोजनाभित्र फसेकालाई उद्धार गर्न नसकेपछि सेनाले सातौं दिनमा भन्यो- तपाइँहरुको टोली खटाउनुस्


काठमाडौं। २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका श्रमिकको उद्धार गर्न नसकेपछि नेपाली सेनाले निजी क्षेत्रको प्राविधिक टोलीलाई प्रवेश अनुमति दिएको छ।

Vigo
GBIME
Tata

सुरक्षाको कारण जनाएर आयोजनास्थलमा प्रवेश रोकेको सेनाले उद्धार गर्न नसकेपछि मंगलबार प्रवर्द्धक कम्पनीको प्राविधिक टोलीलाई सुरुङमा जान अनुमति दिएको हो।

आयोजनाका प्रवर्द्धक विजयमोहन भट्टराईका अनुसार सेनाले प्रविधिक खटाउन अनुमति दिएको छ। ‘हिजोसम्म सेनाले हामीलाई प्रवेश नै दिएको थिएन। पटकपटक अनुरोध गरेपछि बल्ल हाम्रा प्राविधिक खटाउन अनुमति दिएको छ,’ उनले भने।

भट्टराईका अनुसार सुरुङभित्र पेनस्टक पाइपमा कङ्क्रिट गर्न खटिएका श्रमिकहरू फसेका छन्।

‘हाम्रो आयोजनाको टनेलको लम्बाइ डेढ सय मिटर मात्र हो। पेनस्टक पाइपबाट छिर्न बाटो बनाउँदै छौं,’ भट्टराईले भने।

उनी अक्सिजनको कमी नरहेकाले सुरुङमा फसेका श्रमिक सुरक्षित रहेकामा आशावादी छन्। ‘अलि ढिला त भयो, तर हामी उहाँहरूलाई सकुशल उद्धार गर्नसक्नेमा पूर्णरुपमा ढुक्क छौं। उद्धारका लागि आवश्यक पर्ने सामग्री र औजारको व्यवस्थापन भइरहेको छ,’ उनले भने।

सेनाले उद्धारका लागि आवश्यक पर्ने उपकरण झिकाउन ‘एयर लिफ्टिङ’ गर्ने बताएको छ। यो आयोजनाका ४१ जना सम्पर्कविहीन छन्।