काठमाडौं । बाढीका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति हुनुका साथै यातायात, आपूर्ति प्रणाली र व्यापार–व्यवसायमा गम्भीर असर परेको भन्दै नेपाल चेम्बर अफ कमर्सले सबै उद्योगी/व्यवसायीलाई जिम्मेवार भई व्यवसाय संचालन गर्न अपिल गरेको छ।
विशेषगरी उत्तरी रसुवागढी नाका प्रभावित भई आयात र निर्यात तथा आपूर्ति व्यवस्थामा अवरोध पुगेको जनाउँदै चेम्बरले आउँदै गरेको चाडपर्वहरूलाई ध्यानमा राख्दै बजारलाई सहज, व्यवस्थित र मर्यादित बनाउन आग्रह गरेको हो।
चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले विज्ञप्ति जारी गर्दै चाडपर्वको समयमा बजारमा माग बढ्ने भएकाले अवरुद्ध राजमार्ग, वैकल्पिक आपूर्ति मार्ग, भण्डारण र वितरण प्रणालीलाई व्यवस्थित गरी आवश्यक वस्तुको आपूर्ति निरन्तर राख्न निजी क्षेत्रले संयुक्त रूपमा पूर्वतयारी गर्नुपर्ने उल्लेख गरेका हुन्।
त्यस्तै, विपद्ले सिर्जना गरेको असहज अवस्थालाई अनुचित व्यापारिक लाभ लिने माध्यम नबनाउन, सामानको कृत्रिम अभाव सिर्जना नगर्न र अस्वाभाविक मूल्यवृद्धि नगर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ।
साथै, कठिन परिस्थितिमा व्यवसायीले नाफाभन्दा माथि उठेर सामाजिक जिम्मेवारी निभाउनुपर्ने, सरकारले नियन्त्रणभन्दा सहजीकरणमा ध्यान दिनुपर्ने र उपभोक्ताले पनि अनावश्यक वस्तु सञ्चय नगरी संयमता अपनाउनुपर्ने उल्लेख चेम्बरले गरेको छ।
सरकार र निजी क्षेत्र दुवै लचिलो, जिम्मेवार र सहकार्यात्मक बनेमा विपद्पछिको बजारलाई सहज रूपमा संचालन गर्न सकिने चेम्बरको ठम्याइ रहेको जनाइएको छ।









