काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बाढी प्रभावितको राहतका जुट्न निजी क्षेत्रसँग अपिल गरेका छन्।
उनले बिहीबार प्रेस विज्ञप्तिमार्फत महासंघ मातहतका सम्पूर्ण जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा देशभरका उद्योगी-व्यवसायीलाई सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा तत्काल सक्रिय हुन आग्रह गरेका हुन्।
महासंघ मातहतका सम्पूर्ण जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा देशभरका उद्योगी-व्यवसायीलाई यस राष्ट्रिय विपद्को घडीमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उद्धार तथा राहत कार्यमा तत्काल सक्रिय रूपमा जुट्न हार्दिक अपिल गर्दछ,’ उनले भनेका छन्, ‘सम्भव भएसम्म खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन गरी प्रभावित परिवारसम्म सुरक्षित रूपमा पुर्याउन निजी क्षेत्रको सम्पूर्ण सामथ्र्य परिचालन गर्न आग्रह गर्दछु। विपद्को यस कठिन घडीमा निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै राज्यका प्रयासमा हातेमालो गर्न पनि अनुरोध छ।’
महासंघका अध्यक्ष श्रेष्ठले विपद्का कारण उत्पन्न असहज परिस्थितिमा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई सर्वोच्च प्राथमिकतामा राख्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज, नियमित र निर्वाध बनाउन तथा यथोचित र स्थिर मूल्य कायम राख्न पनि अपिल गरेका छन्।











