काठमाडौं। आइएमई ग्रुप अन्तर्गतको भेन्चर हायर पर्चेज लिमिटेडले १५ प्रतिशत लाभांश दिने भएको छ।कम्पनीले लाभांश वितरणको निर्णयका लागि भदौं ३० गते साधारण सभा बोलाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबुराम शर्माले ११ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन, लेखापरीक्षक नियुक्ति, लाभांश प्रस्ताव लगायतको निर्णय साधारण सभाबाट हुने जानकारी दिए।
उनका अनुसार नेपाल धितोपत्र बोर्डमा आइपीओका लागि आवेदन दिएको र त्यहाँबाट स्वीकृत भएपछि सर्वसाधारणमा सेयर जारी हुनेछ। कम्पनीले आइपीओका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ।
आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ पुग्नेछ। शर्माले सर्वसाधारणमा सेयर जारी गरेर कम्पनीलाई थप सुदृढ बनाइने बताए। यो कम्पनीको अध्यक्षमा निशान ढकाल छन्। कम्पनीले सवारी साधन किन्नका लागि कर्जा दिन्छ।
कम्पनीले दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनदेखि व्यक्तिगत तथा व्यावसायिक सबै प्रकारका सवारी साधनमा कर्जा दिँदै आएको छ। निर्माण क्षेत्रमा प्रयोग हुने डोजर, एक्साभेटरलगायत हेभी इक्विपमेन्टमा समेत कर्जा दिने गरेको उनले बताए। कम्पनीले मोबाइल र घरायसी सामाग्रीमा समेत कर्जा दिने भएको छ। शर्माले मोबाइल किन्नदेखि वासिङ मेशिनदेखि फ्रिजसम्म किन्न किस्ताबन्दीमा कर्जा सुविधा दिने जानकारी दिए।










