नेपाली वस्तुको निर्यात बढाउन अन्जनले राजदूतसँग मागे सहयोग, माओमिङले के भने?



बिजमाण्डू
२०८३ भदौ १ गते १९:३२ | Aug 17, 2026
नेपाली वस्तुको निर्यात बढाउन अन्जनले राजदूतसँग मागे सहयोग, माओमिङले के भने?


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ। चिनियाँ राजदूत माओमिङले सोमबार महासंघको कार्यालयमा पुगेर अध्यक्ष श्रेष्ठसँग भेटवार्ता गरेका हुन्।

Tata
GBIME

भेटवार्तामा दुई देशको आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा दुवै पक्षले जोड दिएको महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति अनुसार महासंघ, चिनियाँ दूतावास, सीसीपीआईटी तथा चिनियाँ प्रान्तीय वाणिज्य संघबीच नियमित संवादका साथै सहकार्यलाई थप प्रभावकारी बनाउँदै व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण, संयुक्त उद्यम र निर्यात प्रवर्धन केन्द्रित कार्यक्रम अघि बढाउने विषयमा छलफल भएको छ।

महासंघका अध्यक्ष श्रेष्ठले दुई देशको सम्बन्धनलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिंदै चिया, कफी, जडीबुटी तथा हर्बल उत्पादन, हस्तकला, फेल्ट, हस्तनिर्मित कागज, तयारी पोसाक र सिङ्गिङ बाउललगायत नेपाली उत्पादनको चीनमा निर्यात बढाउन सकिने बताए।

‘चीनसँग आयातको तुलनामा नेपालको निर्यात नगन्य छ। यो अवस्थामा नेपालको निर्यात व्यापार बढाउन चिनीयाँ पक्षको सहयोग आवश्यक छ। अब हाम्रो प्राथमिकता प्रदर्शनीमा सहभागितामा मात्र सीमित नभई वास्तविक अर्डर, दीर्घकालीन खरिदकर्ता र व्यावसायिक साझेदारी आवश्यक छ,’ उनले भने।

महासंघले १५ वर्षदेखि चीनको कुनमिङमा आयोजना हुँदै आएको चाइना साउथ एसिया एक्स्पोलगायत विभिन्न व्यापार मेलामा नेपाली व्यवसायीलाई सहभागी गराउँदै आएको छ।

अध्यक्ष श्रेष्ठले आगामी डिसेम्बरमा काठमाडौंमा हुने ११औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चिनियाँ कम्पनीको थप सहभागिताका लागि राजदूतसँग आग्रह गरे।

चिनियाँ राजदूत माओमिङले नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवर्धनका लागि दुई देशका व्यवसायीबीच प्रत्यक्ष सम्पर्क विस्तारमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए। उनले चीनमा नेपाली वस्तु निर्यात गर्दा गुणस्तर, ब्रान्डिङ र प्याकेजिङ तथा परिमाणमा विशेष ध्यान दिन आग्रह गरे। यसका लागि नेपाली व्यवसायीको क्षमता अभिवृद्धिमा सहयोग गर्न आफूहरु तयार रहको राजदूतको भनाइ थियो।

भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्षद्वय कृष्ण प्रसाद शर्मा र नरेशलाल श्रेष्ठ तथा बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठ पनि सहभागी थिए।