काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर समूहले गरेको राष्ट्रिय भेलालाई आफूले सम्मान गर्ने बताएका छन्। उनले सोमबार कांग्रेस केन्द्रीय समितिको बैठकमा भेलालाई सम्मान गर्ने तर पार्टीका निम्ति स्वीकार्य नहुने बताए।
‘सुकेधारा भेलालाई सम्मान गर्छौं। तर, यो विधानको अंग बन्दैन। कुनै पनि भेलामा प्रस्तुत भएको विचार, प्रतिवेदन वा भेलाले गरेका निर्णय पार्टीको नीति वा विधानको अंग बन्दैन। त्यसैले पार्टीका निम्ति त्यो स्वीकार्य हुँदैन,’ उनले भने।
उनले भेलाबाट पारित भएका प्रस्तावप्रति भने सम्मान रहेको बताए।
‘कुनै पनि ठाउँमा भएको भेला त्यो नेपाली कांग्रेसको साथीहरु बसेर जुटेर गर्नुभएको भेला हो। त्यो भेलाबाट कुनै कुरा निर्णय भयो, कुनै विषय प्रस्ताव पारित भयो भनेर भन्दै गर्दा त्यसलाई हामी सुन्छौं। त्योप्रति हामी सम्मान पनि गर्छौं। तर त्यो हाम्रो पार्टीको नियमको, नीतिको, विधानको कुनै पनि कुराको अंग बन्दैन,’ उनले भने।

उनले कांग्रेसभित्र भेला गर्न पाइने बताए। ‘हामी स्वतन्त्रतापूर्वक संगठित हुने, भेला गर्ने अधिकारको सम्मान गर्छौं। हाम्रो संविधानले पनि हामीलाई त्यही कुरा सिकाएको छ। हाम्रो पार्टीको परम्परा पनि छ यो। रचनात्मक बहस गर्न हामी खुला छौं,’ उनले भने, ‘हिजो पार्टी सभापति शेरबहादुर देउवा हुँदै गर्दाखेरि कयौं भेलाहरु त मैले गरेको छु। संयोजन गरेको छु। यहाँ हुनुभएका कति साथी भेलामा आउनुभएको छ। भेलाहरु हुन्छ।’









