कांग्रेसइतरको भेला समापन: १५औँ महाधिवेशन देउवा नेतृत्वमा हुने प्रस्ताव, पराजयको दोष गगनलाई



बिजमाण्डू
२०८३ साउन ३१ गते १४:२२ | Aug 16, 2026
कांग्रेसइतरको भेला समापन: १५औँ महाधिवेशन देउवा नेतृत्वमा हुने प्रस्ताव, पराजयको दोष गगनलाई


काठमाडौं। राष्ट्रिय सम्मेलनमा रूपान्तरित कांग्रेसको इतर समूहको तीनदिने राष्ट्रिय भेला पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको १५औं महाधिवेशन गर्ने भन्दै आइतबार सम्पन्न भएको छ। काठमाडौंको सुकेधारामा आयोजित सम्मेलनको समापनमा पूर्वसभापति देउवासहितका नेताहरूले पार्टी एकता, राष्ट्रिय हित र आगामी महाधिवेशनबारे धारणा राखे।

Tata
GBIME

सम्मेलनमा नेता दीपकप्रसाद कुइकेलले प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेसइतरका सबै राष्ट्रिय शक्तिसँग राष्ट्रिय हितका साझा विषयमा गहन संवाद र सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ। प्रदेश सरकारबाट कांग्रेस बाहिरिनुपरेको जिम्मेवारी पार्टीको नेतृत्वले लिनुपर्ने उल्लेख गर्दै प्रतिवेदनमा विशेष महाधिवेशनका कारण फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले लज्जास्पद हार बेहोर्नुपरेको दाबी गरिएको छ।

प्रतिवेदनमा तत्कालीन महामन्त्री गगन थापाका कारण समयमै नियमित महाधिवेशन हुन नसकेको आरोप लगाउँदै आगामी १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा गर्नुपर्ने प्रस्ताव गरिएको छ। पार्टीभित्र एकता कायम गर्दै ‘एकताको महाधिवेशन’ गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा राखिएको थियो।

सरकारको कार्यशैलीमा सुधारको आवश्यकता औँल्याउँदै सम्मेलनमा प्रस्तुत विभिन्न प्रतिवेदन संशोधनसहित पारित गरिएको जनाइएको छ।

समापन समारोहमा देउवाले सम्मेलन पार्टीलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भएको बताए। उनले आगामी दिनमा पनि कांग्रेस एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै सम्मेलन सफल बनाउन भूमिका खेलेका सबैलाई धन्यवाद दिए। धर्मका विषयमा सहभागी एक प्रतिनिधिले ‘हिन्दु राष्ट्र’ बारे धारणा माग्दै बुझाएको पत्रको जवाफ दिँदै देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु भएको बताए। उनले हिन्दु परम्पराअनुसार व्रतबन्ध र विवाह गरेको तथा पशुपतिनाथमा पूजाआजा गर्ने गरेको उल्लेख गरे।

‘म हिन्दु हुँ। म अरू धर्मको विरोधी होइन,’ देउवाले भने, ‘मैले आफू हिन्दु हो भन्न पाउनुपर्‍यो नि। हिन्दुमा विश्वास गर्न पाउनुपर्‍यो नि मैले। यसमा कुनै कन्फ्युजन नहोस्।’

नेपालमा मुस्लिम, किराँत लगायत विभिन्न धर्म मान्ने समुदाय रहेको उल्लेख गर्दै उनले आफू कसैको विरोधमा नरहेको स्पष्ट पारे। देशमा धर्मका विषयमा के हुने वा नहुने भन्ने निर्णय जनताले गर्नुपर्ने बताउँदै उनले सबैका लागि धार्मिक स्वतन्त्रता हुनुपर्ने धारणा राखे।

भेला संयोजक डा. शशांक कोइरालाले शशांक कोइराला पार्टीलाई एकताबद्ध गर्नका लागि यो सम्मेलन भएको जिकिर गरे। ‘भोलिका दिनमा पनि एकै ठाउँमा उभिनुपर्छ। तपाईहरुको कारण यो सफल भयो, तितामिठा कुरा सम्झनु। हामीलाई नबिर्सनुहोला,’ उनले भने।