काठमाडौं। इथानोल मिश्रित पेट्रोल बेच्ने तयारी गरिरहँदा सरोकारवालाहरूले भने हतारिन नहुने बताएका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवादमा वक्ताहरूले यस्तो धारण राखेका हुन्।
भारतको सेन्टर मोटर भेहिकल रुल्स टेक्निलक स्ट्याण्डिङ समिटका अध्यक्ष डा. बलराज भनोटले इथानोलले पेट्रोलियम पदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुर्याउने भए पनि कार्यान्वयनमा ल्याउँदा विभिन्न व्यावहारिक तथा प्राविधिक पाटोहरूमा गम्भीरताका साथ विचार गर्नुपर्ने बताए।
उनले नेपालमा हाल सञ्चालनमा रहेका अधिकांश सवारीसाधन इथानोल अनुकूल नरहेकाले तिनलाई १०० प्रतिशत पेट्रोल नै आवश्यक पर्ने बताए। इथानोल मिसाइएको इन्धन प्रयोग गरिएमा इन्जिनमा प्राविधिक समस्या देखिन सक्ने उनले बताए।
‘नेपालमा हाल सञ्चालनमा रहेका अधिकांश सवारी साधन इथानोल कम्प्लायन्ट छैनन्। तिनलाई १०० प्रतिशत पेट्रोल नै चाहिन्छ। यदि गैरअनुकूल सवारीमा इथानोल मिसाइएको इन्धन प्रयोग गरिएमा इन्जिनमा प्राविधिक समस्या देखिन सक्छ,’ उनले भने, ‘तसर्थ, भविष्यमा इथानोल वा ब्लेन्डेड इन्धन आयात गर्दा वा नेपालमै ब्लेन्ड गर्दा त्यस्ता सवारीसाधनका लागि छुट्टै पम्प वा इन्धनको व्यवस्था गर्नुपर्ने हुन्छ।’
उनले इथानोल र पेट्रोल मिसाउँदा पानीको मात्रा मिसिन पुग्यो भने इन्धनमा ‘फेज सेपरेसन’ भएर इथानोल तल थिग्रिने जोखिम रहने बताए। यसले गर्दा सवारीको इन्जिनमा गम्भीर असर पर्न सक्ने भएकाले पम्पहरूमा नियमित रूपमा डिपिस्टक वा अन्य प्रविधिमार्फत गुणस्तर अडिट गर्ने व्यवस्था मिलाउन अति आवश्यक रहेको उनले बताए।
उनले नेपालमा इथानोल मिश्रण गर्दा सुरुमा थोरैबाट सुरु गर्न सुझाव दिए। भारतमा सन् २००६ मा ५ प्रतिशतबाट सुरु गरिएको इथानोल ब्लेन्डिङ सन् २०१० बाट १० प्रतिशत र हाल २० प्रतिशत पुर्याइएको जानकारी दिए। तर, तीव्र रूपमा इथानोलको मात्रा बढाउँदा पुराना सवारीसाधन र इन्धन आपूर्ति प्रणालीमा गम्भीर समस्या देखिएको उनले औंल्याए।
आयातित ब्लेन्डेड इन्धन प्रयोग गर्ने वा नेपालमै इन्धन र इथानोल मिसाएर ब्लेन्डिङ गर्ने भन्ने विषयमा स्पष्ट लागत विश्लेषण गर्न आवश्यक रहेको उनले बताए।
‘सरकारले इथानोल मिश्रणको नीति लागू गर्नुपूर्व सवारीसाधनहरूले तोकिएको मापदण्ड पालना गरेका छन् वा छैनन् भनी अध्ययन र गृहकार्य गर्नुपर्ने हुन्छ’, उनले भने।
आटोमोबाइल व्यवसायी एवम् नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा इथानोल मिश्रणको नीति लागू गर्दा सवारीसाधनको अनुकूलता र बजारको मागलाई गम्भीर रूपमा लिनुपर्ने बताए।
सन् २०१० पछिका अधिकांश भारतीय सवारी ई-१० इन्धनका लागि उपयुक्त भए पनि नेपालमा अन्य देशका सवारीसाधन पनि भित्रिने हुनाले सबै गाडी इथानोलयुक्त इन्धनका लागि तयार भइनसकेको उनले बताए।
नेपालमा इथानोल उत्पादन हुने इथानले मागको करिब ३.५ प्रतिशत मात्र धान्न सक्ने बताए। ‘नेपालमा वार्षिक करिब २३० लाख क्विन्टल उखु उत्पादन हुन्छ। यसबाट करिब १० करोड क्विन्टल मोलासेस प्राप्त हुन सक्छ। जसबाट करिब २ देखि २.५ करोड लिटर इथानोल उत्पादन गर्न सकिन्छ, जसले नेपालको दैनिक पेट्रोल खपतको १० प्रतिशतको आधारमा करिब ३.५ प्रतिशतसम्म माग धान्न सक्ने देखिन्छ,’ उनले भने।
सवारी परीक्षण कार्यालयका प्रमुख सुरेश श्रेष्ठले नेपालमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीति लिँदा मुख्य रूपमा आयात प्रतिस्थापनलाई प्राथमिकतामा राखिएको बताए। पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिए कुल आयातलाई १० प्रतिशत कम गर्न सक्ने उनको भनाइ छ।
नेपालमै इथानोल उत्पादन र मिश्रण गर्न सकिएमा देशमा कृषिमा आधारित नयाँ उद्योग तथा आर्थिक गतिविधिहरूलाई समेत टेवा पुर्याउने उनले बताए।










