आईजी कार्कीले सभामुखलाई भने, ‘खगेन्द्र सुनारको अभिव्यक्तिले सुरक्षा संगठनको मनोबल कमजोर बनायो’



प्रकाश भण्डारी
२०८३ साउन २९ गते २०:५६ | Aug 14, 2026
आईजी कार्कीले सभामुखलाई भने, ‘खगेन्द्र सुनारको अभिव्यक्तिले सुरक्षा संगठनको मनोबल कमजोर बनायो’


काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्याललाई भेटेर सार्वजनिक लेखा समितिमा आफूविरुद्ध सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।

Tata
GBIME

समितिको बुधबारको बैठकमा कार्की र सुनारबीच नोकझोक भएको थियो। निर्वाचन प्रहरीको पोशाकमा ६० करोड भ्रष्टाचार गरिएको उजुरीमाथिको छलफलमा सुनारले कार्की र गृहसचिव राजकुमार श्रेष्ठलाई पदबाट बर्खास्त गरेर छानबिन गर्न माग गरेपछि कार्की आक्रोशित बनेका थिए। समिति बैठकको माहोल नै उजुरी माथि छलफल गर्ने भन्दा पनि महानिरीक्षक कार्की र सचिव श्रेष्ठको बचाउ र आलोचनामा केन्द्रित बनेको थियो। 

कार्कीले सुनारको अभिव्यक्तिलाई लिएर सभामुख अर्याललाई ध्यानकर्षण गराएका हुन्। सुनारको अभिव्यक्तिले प्रहरी संगठनमै असर परेको कार्कीको भनाइ थियो।

‘लेखा समितिमा भएको घटनाको विषयमा उहाँहरूले व्यक्तिलाई होइन, एउटा संस्थाको लागि नै यस्तो भन्नुभएको हो। त्यसले गर्दा हाम्रो ओभरअल संस्थाका सबै तल्लो तहका कर्मचारीहरूको पनि मनोबल गिरेको छ भनेर आईजीले भन्नुभयो,’ स्रोतले भन्यो।

कार्कीले आफू अर्यालको धारणा बुझ्न आएको बताएका थिए। सभामुखले आफूले संसदलाई मर्‍यादित बनाउन काम गरिरहेको र सुनारको अभिव्यक्तिबाट बिचलित नहुन आग्रह गरेका थिए। ‘मैले आफ्नो तर्फबाट काम गरिरहेको छु। तपाईंहरू आफ्नो मनोबल नगिराइकन काम गर्नुहोला, हामी तपाईंको साथमा छौँ भनेर सभामुखले भन्नुभएको छ,’ उनले भने। महानिरीक्षक कार्कीलाई सभामुख अर्यालले आफूले सामान्य सचेत गराउने बाहेक उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्टीकरण सोध्न सक्ने जवाफ दिएका थिए।

कार्कीले समितिमै सुनारको आरोपको प्रतिवाद गरेका थिए भने अरु दलका सांसदहरुले समेत सुनारले लेखा समिति सदस्यको मर्यादा नाघेको भन्दै आलोचना गरेका थिए। समितिको नोकझोकबारे सभामुख अर्यालले सभापति भरतबहादुर खड्कालाई बोलाएर ब्रिफिङ लिइसकेका छन्। खड्काले बैठकमा रास्वपा सांसद सुनारको अभिव्यक्तिका कारण महोल केही आक्रोसित बन्न पुगेको जानकारी अर्याललाई गराएका थिए। आफूले रुलिङ गर्दागर्दै पनि सांसदहरु आरोप प्रत्यारोपमा उत्रिएको खड्काले सभामुखलाई बताएका थिए। 

गृहमन्त्री सुदन गुरुङले पनि गृहसचिव श्रेष्ठ र महानिरीक्षक कार्कीको बचाऊ गर्दै लेखा समितिको घटनाबारे आफ्नो ध्यानकर्षण भएको बताएका थिए। गुरुङले कानुन समितिको बैठकमा आरोप लागेकै आधारमा दोषीको जस्तो व्यवहार गर्नु अनुचित भएको बताएका थिए।