मोदी जलविद्युतको ठेक्कामा चिनियाँ कम्पनीको लडाइँ, फर्जी कागजातको पोल यसरी खुल्यो



जनक वली
२०८३ साउन २८ गते १८:३४ | Aug 13, 2026
मोदी जलविद्युतको ठेक्कामा चिनियाँ कम्पनीको लडाइँ, फर्जी कागजातको पोल यसरी खुल्यो


काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मोदी जलविद्युत् कम्पनीले अघि बढाएका दुईवटा जलविद्युत् आयोजनामा सवा ३ अर्बको ठेक्का अन्तिम समयमा रद्द गरिएको छ।

Tata
GBIME

प्राविधिकरुपमा पास भएको एक मात्र कम्पनीले पेस गरेको कागजात नै फर्जी भएको खुलेपछि ठेक्का प्रक्रिया रद्द गरिएको हो।

मोदी जलविद्युत् कम्पनीले निर्माणाधीन ४२ मेगावाट क्षमताको अप्पर मोदी ‘ए’ र १८.२ मेगावाट क्षमताको अप्पर मोदी हाइड्रोइलेक्ट्रिसिटी प्रोजेक्टअन्तर्गत ‘कन्स्ट्रक्सन अफ इलेक्ट्रोमेकानिकल’ कामका लागि करिब सवा ३ अर्बको ठेक्का २०८२ मंसिर २१ गते आह्वान गर्‍यो।

प्याकेज-१ र प्याकेज-२ मा ठेक्का आह्वान गरिएकामा पहिलो प्याकेजका लागि ३ वटा र दोस्रो प्याकेजका लागि दुई कम्पनीको प्रस्ताव पर्‍यो।

प्याकेज-१ अन्तर्गत अप्पर मोदी ‘ए’को इलेक्ट्रोमेकानिकल कामका लागि भारतीय कम्पनी टीपीइएस-भीएपीटीइसीएच जेभी तथा चीनका एचएनएसी-केइएम जेभी र एचजेएचएसटीसीएलले आवेदन दिए।

कम्पनीले गत जेठ २० गते प्राविधिक प्रस्ताव खोल्यो। प्राविधिक मूल्यांकनमा चिनियाँ कम्पनी एचएनएसी-केइएम जेभीमात्र पास भयो। तर, प्रतिस्पर्धाबाट बाहिरिएको अर्को चिनियाँ कम्पनी एचजेएचएसटीसीएलले आफू असफल हुनुको वस्तुनिष्ठ कारण माग्दै कम्पनीमा निवेदन दियो।

मोदी जलविद्युत् कम्पनीले एचजेएचएसटीसीएललाई लिखित जवाफ फर्कायो। कम्पनीले माग गरे अनुसारको अनुभव नपुगेको जवाफपछि उसले एचएनएसी-केइएम जेभी कसरी पास भयो? भनेर सोध्यो। उसले एचएनएसी-केइएम जेभीको योग्यता सम्बन्धी कागजात कत्तिको आधिकारिक हुन् भन्ने प्रश्न उठाउँदै छानबिनको मागसहित उजुरी दियो।

एचजेएचएसटीसीएल तामाकोशी-५ मा इलेक्ट्रोमिकाेनिक काम गरिरहेको कम्पनी हो।

उजुरीपछि मोदी जलविद्युत् कम्पनीले ‘रिभ्यु कमिटी’ गठन गर्‍यो। कमिटीले अध्ययनपछि एचएनएसी-केइएम जेभीले पेस गरेको कागजात फर्जी रहेको भन्दै ठेक्का रद्द गर्न निर्देशन दियो।

‘रिभ्यु कमिटी’को निर्देशन अनुसार मोदी जलविद्युत् कम्पनीले बिहीबार सूचना निकालेर ठेक्का रद्द गरेको छ।

‘फर्जी कागजात पेस गरेको कम्पनी प्राविधिक मूल्यांकनमा कसरी पास भयो भन्ने उजुरीपछि हामीले एउटा रिभ्यु कमिटी बनाएर सूक्ष्म अध्ययन गर्‍यौं। अध्ययनका क्रममा कम्पनीले पेस गरेका कागजात कीर्ते पाइयो। त्यसपछि ठेक्का नै रद्द गर्ने निर्णय गरिएको हो,’ प्राधिकरण स्रोतले भन्यो।

यस्तै १८.२ मेगावाट क्षमताको अप्पर मोदी हाइड्रोइलेक्ट्रिसिटी प्रोजेक्टको इलेक्ट्रोमेकानिकल कामका लागि दुईवटा कम्पनीले आवेदन दिएका थिए। यसमा पनि एचएनएसी-केइएम जेभी र नेपाली कम्पनी महावीर-गुलजर-निलुम्बो जेभीले आवेदन दिएका थिए। माग गरिएको फङ्सनल ग्यारेन्टी नपुगेपछि प्राविधिक मूल्यांकनमा महावीर-गुलजर-निलुम्बो जेभी फेल भयो। एचएनएसी-केइएम जेभी पास भयो।

तर, फर्जी कागजातका कारण प्याकेज-२ को ठेक्का पनि स्वत: रद्द गरिएको छ।

‘दुवै प्याकेजमा प्राविधिक रूपमा एउटा मात्र कम्पनी पास भएको थियो। तर, चिनियाँ कम्पनीले कीर्ते कागजात पेस गरी सार्वजनिक खरिद प्रक्रियालाई गुमराहमा राखेको रिभ्यु कमिटीको निष्कर्षपछि ठक्का रद्द गर्नुको विकल्प भएन,’ स्रोतले भन्यो।

प्राविधिक रुपमा पास भएको कम्पनीले पेस गरेको फर्जी कागजातका कारण ठेक्का रद्द गर्नुपरेपछि दुवै आयोजना लम्बिने भएका छन्। दुवै आयोजनामा सिभिलतर्फको हाइड्रोमेकानिक काम भने भइरहेको छ। अहिलेसम्म १० प्रतिशत काम सम्पन्न भएको कम्पनीका एक कर्मचारीले जानकारी दिए।