धनकुटा। भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय पूर्वी नेपालका लागि नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ। पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक सयौँ पर्यटक‘स्काइवाक’ आउने गरेका छन्।
वन्डर्स अम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिले २०८१ साउन ११ देखि सञ्चालनमा ल्याएको ‘स्काइवाक’मा दुई वर्षमा ३ लाख ९ हजारभन्दा बढी पर्यटक आएका छन्। परियोजनाका अनुसार पहिलो वर्ष १ लाख ७८ हजार र दोस्रो वर्ष १ लाख ३१ हजार पर्यटकले स्काइवाकको अवलोकन गरेका छन्। यसमा करिब ३५ प्रतिशत संख्या भारतीय पर्यटकको छ।
स्काइवाकसँगै फ्री–फल जम्प र स्वीङजस्ता साहसिक गतिविधि पनि सञ्चालनमा छन्। आगामी दिनमा स्काइ साइक्लिङ, जिपलाइन र बालबालिकाका लागि उद्यान निर्माण गर्ने योजना रहेको परियोजनाका प्रबन्ध निर्देशक सञ्जीव रोकाहाले बताए। भेडेटार समुद्र सतहबाट करिब १ हजार ४ सय मिटर उचाइमा अवस्थित छ।
यहाँबाट सप्तकोशी नदी, पूर्वी तराईका फाँट तथा सगरमाथा, मकालु, कञ्चनजंघालगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ। स्काइवाकबाट पनि दृश्यावलोकन रोमाञ्चक हुने गरेको छ। मौसम सफा भएका दिन सूर्योदय र सूर्यास्तको दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ।
प्राकृतिक दृश्यावलोकनसँगै साहसिक अनुभूति लिन चाहनेहरूका लागि स्काइवाक उपयुक्त गन्तव्य बनेको होटल लावती कर्नरका सञ्चालक लिलाराज लावतीले बताए। होटल एसोसिएसन अफ भेडेटारका पूर्वअध्यक्षसमेत रहेका उनी टावरको माथिबाट हेर्दा हिमाल, पहाड र तराईको दृश्यले भेडेटारलाई अझ महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित बताउँछन्।
स्काइवाकका कारण साना-साना पसलदेखि होटल व्यवसायलाई थप चलयमान बनाएको उनले सुनाए। स्काइवाक सञ्चालनबाट राज्यले राजस्व संकलन पनि गरिरहेको छ। ‘वार्षिक तीन लाख रुपैयाँ नवीकरण शुल्क, पर्यटन कर तथा भ्याट तथा अन्य विभिन्न कर पनि तिर्नुपर्छ,’ प्रबन्ध निर्देशक रोकाहाले भने, ‘गत वर्ष करिब ९ करोडको कारोबार हुँदा करिब ४५ लाख रुपैयाँ रोयल्टी तिर्नुपरेको थियो, त्यति नै रकम मनोरञ्जन करमा पनि तिर्नुपरेको छ।’
प्रदेश सरकारले पीपीपी परियोजनालाई प्रवर्द्धन गर्ने नीति लिएको भए पनि यस्ता परियोजनालाई दिगो बनाउन कर नीति पुनरवलोकन आवश्यक रहेको उनको भनाइ छ। करको सट्टा व्यावहारिक र लगानीमैत्री नीति अपनाइए नयाँ परियोजना आकर्षित गर्न, पर्यटन विकास गर्न र दीर्घकालीन रूपमा राज्यको राजस्वसमेत बढाउन सहयोग पुग्ने उनको धारणा छ। रासस









