काठमाडौं। कुनै पनि मुलुकको टिमले आसन्न प्रतियोगिताअघि निक्कै तयारी गर्छ मेडल आफ्नो बनाउनका लागि। फुटबलका सन्दर्भमा अहिले यही रणनीति लिइरहेको छ बंगलादेशले। उसले आफूभन्दा बलियो टिमसँग चारवटा मैत्रीपूर्ण खेल खेल्दैछ। आगामी साफ च्याम्पियनसिप तयारीका लागि माथिल्लो वरीयतामा रहेको टोलीसँग खेल्ने बंगलादेश फुटबल संघका अध्यक्ष तविथ मोहम्मदले बताएका छन्।
बंगलादेशको रणनीतिभन्दा कम लाग्दैन भारतको तयारी। माथिल्लो श्रेणीमा रहेका टिमसँग खेल्ने रणनीति नभए पनि भारतीय खेलाडी यतिबेला डुरान्ड कपमा व्यस्त छन्। त्यसैले उनीहरूको अभ्यास बलियो बनाइरहेको छ। बंगलादेश र भारतजस्तै दक्षिण एसियाका पाकिस्तान, माल्दिभ्स र भुटान पनि आसन्न प्रतियोगिताको तयारीका लागि मैदानमा जुटेका छन्।
श्रीलंका पनि यो दौडमा पछाडि छैन। त्यहाँका फुटबल प्रशिक्षित जित निकालेर देखाइदिने ‘इगो’ सहित खेलाडीलाई मैदानमा उतार्ने तयारीमा छन्। त्यो इगो ठ्याक्कै नेपालसँग जोडिएको छ।
नेपालका पूर्व-प्रशिक्षक अब्दुल्लाह अलमुताइरीहाल श्रीलंकाका प्रशिक्षक हुन्। नेपाललाई सन् २०२१ मा साफको फाइनलमा जिताउन नसकेका उनी यसपाला श्रीलंकालाई जिताएरै छाड्ने अभियानमा छन्। तयारीसँगै उनी जितको रटान लगाइरहन्छन् बारम्बार। उनका अभिव्यक्तिले नेपाली फुटबलमा लागेको घाऊमाथि ‘नुनचुक’दलेजस्तै लाग्छ। किनकी अखिल नेपाल फुटबल संघको पछिल्लो नेतृत्व उनै अलमुताइरीविरुद्ध हात धोएर लागेको थियो, नेपालमा रहँदा।

कुनै बेला दक्षिण एसियाली फुटबलमा बलियो वर्चश्व राखेको नेपाली टिमप्रति यसपाला चाहिँ नेपाली फुटबल समर्थक आशा मारेका छन्। उनीहरूले जितको सपना पछिल्लो पटक सन् २०२१ मा देखेका थिए जतिखेर अलमुताइरी नेपाली टिमलाई नेतृत्व दिइरहेका थिए। त्यसपछि लगातार रुपमा नेपाली फुटबलको स्थिति बिग्रिँदै जाँदा साफ च्याम्पियनसिपको ट्रफीनेपालीको हातबाट टाढा-टाढा जान थालेको थियो। यसपाला त सहभागी हुन पाउनु नै नेपालीका लागि ‘भाग्य’ हुने स्थिति छ।
‘समयमै समाधान खोजिएन भने नेपालले आगामी साफ फुटबल प्रतियोगिता समेत गुमाउने अवस्था हुन सक्छ,’ नेपाली टोलीका पूर्वकप्तान हरि खड्का भन्छन्, ‘खेलाडीहरूको वर्षौंको मेहनत, सपना र राष्ट्रको गौरवलाई जोगाउनसम्बन्धित सरोकारवालासँग आवश्यक पहल गरि नेपाली खेलाडीलाई मैदानमा उत्रिने वातावरण मिलाइदिनुहुन अनुरोध गर्दछु।’
+++
साफका अरु देशहरुले जसरी तयारी गरिरहेका छन् त्यसले साफलाई उनीहरूले कति महत्वका साथ लिएका छन् भन्ने देखाउँछ। छिमेकी मुलुक भारत त समयसमयमा साफबाट बाहिर निस्कने बहसमै उत्रिन्छ – दक्षिण एसियाली टिमलाई कमजोर आँक्दै। तर, सधै आफ्नै दवदबा भएको प्रतियोगिता उसले सजिलै छाड्न पनि सकिरहेको छैन। फुटबलमा भारतको झैदबदबा बंगलादेश, माल्दिभ्स र पाकिस्तानले पनि चाहेका छन्। भुटान यो मामिलामा मौन देखिन्छ तर चुपचाप फुटबल विकासलाई उसले गति दिइरहेको छ।
दक्षिण एसियामा अरुदेश जस्तै नेपालले साफमा दबदबा नेपालले पनि चाहेकै थियो। उनै अल्मुताइरीको कार्याकालमा फाइनल पुग्नु बाहेक सिनियर फुटबलमा अर्को उपलब्धि नेपालीको पोल्टामा परेको छैन।
अल्मुताइरीको कार्यकाल नेपालमा निकै विवादित थियो- फुटबल राजनीति, प्रोफेसनालिज्म, खेलाडीको अनुशासन आदिलाई लिएर।त्यति हुँदाहुँदै पनि फुटबलकोगजबको माहोल यही अवधिमा थियो। हालका कप्तान किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथु, अञ्जन विस्ट, रोहित चन्द, अनन्त तामाङ जस्ता खेलाडीसँग अल्मुताइरीको विवाद भए पनि मैदानमा नेपाल बलियो थियो।

खेलाडीसँग मात्र होइन तत्कालीन वरिष्ठ उपाध्यक्ष र हाल निलम्बित एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङसँग त उनको अझ ठूलो ‘टसल’ थियो। नेम्बाङकै कारण उनले राजीनामा दिन एन्फा हिँडेको सार्वजनिक गरेपछि त फुटबलका समर्थक नेम्बाङमाथि खनिएका थिए।
नेपाली फुटबल अहिले पनि नेम्बाङकै वरिपरि घुमिरहेको छ। केही खेलाडी संघकोपदाधिकारी बनेका छन्। नेम्बाङ अध्यक्षमा दोहोरिने होडमा।नेपाल खेल भताभुङ्ग। तयारी शून्य। खेलाडीहरू कठिन अवस्थामा। ठीक यतिखेरै अलमुताइरी विपक्षी टोलीको प्रशिक्षक छन् जसले नेपाली फुटबलको ‘मेरुदण्ड’ कस्तो छ थाहा छ।
फुटबलको ‘कन्ट्रोभर्सी’कै बीचमा नेम्बाङ एन्फा अध्यक्ष भएर आउँदा अलमुताइरीले प्रशिक्षणमा निरन्तरता दिएनन्। उनी अफगानिस्तान पुगे। त्यहाँ पनि जंगी स्वभावका उनलाई विवादले छाडेन। त्यसपछि उनी श्रीलंका पुगेका छन्। उनका सकारात्मक र नकारात्मक पक्ष जति जे भएपनि मैदानमा भने उनले प्रभाव छाडेका थिए नेपालको सन्दर्भमा। देशमा फुटबलको माहोल फर्काउन उनको योगदान गजबकै थियो।
+++
अहिले प्लट फेरिएको छ। सरकार फेरिएको छ। अल्मुताइरीसँग झगडा परेका नेम्बाङले एन्फाको अध्यक्षमा दोहोरिन ‘अर्ली इलेक्सन’ गर्ने लिँडेढिपी कस्दा नेपाली फुटबल निलम्बनसम्म आइपुगेको छ। एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा ‘अर्ली इलेक्सन’ले गर्दा फुटबल यो स्थितिमा आएको बताउँछन्।
‘नेपाली फुटबल फिफाबाट निलम्बनको अवस्थामा छ, अखिल नेपाल फुटबल संघको पदावधि अषाढ ६ गते २०८३ मा सम्पन्न भैसकेको अवस्थामा छ,’ उनको भनाइ छ, ‘अहिले अवस्था सृजना हुनु भनेको विधानमा कतै नबोलेको अर्ली इलेक्सनको कारणले सृजीत दुर्घटना हो। निर्वाचन भनेको फ्रेस म्यान्डेटलिनु हो,के सद्स्य संस्थाहरुको निर्वाचन नगरि फ्रेस म्यान्डेट होला त?’
विक्रम लामा फुटबल खेलाडी संघको अध्यक्षमा छन्। उनकै नेतृत्वमा लिग चाहियो भनेर आन्दोलन गर्ने तथा अल्मुताइरीसँग विवाद पर्ने खेलाडीमध्येका एक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा छन्। फुटबल पृष्टभूमिकै सिद्धि बेन युवा तथा खेलकुद मन्त्रीको सल्लाहकारका रुपमा खेलकुदमा हर्ताकर्ता छन्।
सबै खालको राजनीति चलिरहेको छ, मात्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबल हुन सकेको छैन।
अनि नेपालमा प्रशिक्षक? प्रतिबन्ध खुले साफ च्याम्पियनसिपका लागि प्रशिक्षक र खेलाडी खोज्न थाल्नुपर्ने स्थितिमा एन्फा हुनेछ यदि सबै कुरा राम्ररी गए।

+++
साफले नेपालको प्रतिबन्ध खुले समूह ‘ए’मा पर्नेगरी ‘ड्र’ गरेको छ। नेपालले खेल्न पाए पक्का अल्मुताइरीविरुद्ध खेल्ने छ। अध्यक्ष नेम्बाङदेखि कप्तान किरण, रोहित चन्द, अञ्जन विष्ट, अनन्त तामाङ जस्ता खेलाडी र अल्मुताइरीबीच निकै रोचक प्रतिस्पर्धा हुने देखिन्छ।
उसो पनि दक्षिण एसियाली राष्ट्रका लागि फुटबलको सबैभन्दा ठूलो उत्सव नै साफ हो। यहाँ भारतको सधैं दबदबा छ भने नेपाल, बंगलादेश, माल्दिभ्सजस्ता देशहरु सधैं बलियो चुनौती लिएर आउने गर्छन्।
साफका सबैदेशहरु साफको तयारीमा लाग्दा नेपालको कथा फरक छ। यहाँ अहिले फुटबलबाहेक सबैथोक भइरहेको छ।
कोही खेलाडी खेलबाहेकको मुख्य पेशामा (क्याफे)मा भेटिन्छन् भने कोही हाइकिङतिर उक्लँदा फेला पर्छन्।
अनि सँगैका साथी पलायन हुँदा फुटबलका लागि भनेर टिकेका खेलाडी थकथकाइरहेको भेटिन्छन्।
नेपालमा अहिले घरेलु र अन्तर्राष्ट्रिय खेल ठप्प छन्। खेलेर पैसा कमाउने उपाय नभएपछि खेलाडीहरु ‘खेप’ हान्न निस्किएका छन्। ‘खेप’ अर्थात सीमापार हुने ससाना प्रतियोगिता। नेपालको झण्डा लिएर मैदान उत्रने खेलाडीलाई नेपालमा परिवारसँग टिक्ने हो भने जोखिम मोलेर खेप गर्नैपर्ने बाध्यता छ। यसरी खेप हान्दा आत्मसम्मान त अलग विषय भयो आयोजकदेखि समर्थकसम्मको कुटाइसम्म खाएको कथा खेलाडीहरुको खासै नयाँ पनि होइन।
फिफाको प्रतिबन्ध नहुँदो हो त कमसेकम मोफसलले खेलाडीलाई धेरै राहत मिल्थ्यो। प्रतिबन्ध नहुँदा पनि फुटबलको सर्वोच्च निकाय एन्फाले ‘ए’ डिभिजन लिग गरेन/गर्न सकेन। भदौ २० बाट हुने भनिएको नेपाल सुपर लिग (एनएसएल) पनि यसै चेपुवामा परेको छ।
गएको महिना सम्पन्न फुटबलको सबैभन्दा ठूलो इभन्ट फिफा विश्वकपमा दक्षिण एसियाली सबैमुलुकसँगै चीन दर्शक मात्रै बने। यहाँको जनसंख्या र व्यापारलाई लक्षित गरेर फिफाले फुटबल यहाँ बिस्तार गर्न खोजिरहेको छ। यसको फाइदा नेपालले पनि उठाउन सक्छ। तर, नेपालले उल्टो बाटो लिएको छ।
तर, कहिले बंगलादेश, कहिले श्रीलंका, कहिले पाकिस्तान त कहिले भारत फिफाको प्रतिबन्धमा परिरहन्छन्। अहिले नेपाल प्रतिबन्धमा छ। केन्द्रको राजनीतिसँग खेलकुदलाई प्रत्यक्ष जोडेर सिँडी बनाउँदा दक्षिण एसियाली राष्ट्रहरुको फुटबलमा सँधै समस्या रहँदै आएको छ। फिफा आफैंमा पनि दुधले नुहाएको छैन। शक्तिशाली राष्ट्रको हस्तक्षेप नकार्न नसक्ने फिफाले साना राष्ट्रहरुलाई भने नियममा कडिकडाउ गर्ने गरेको छ।
युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रतिबन्ध हटाउन प्रयास भइरहेको र यसका लागि फिफासँग संवाद भइरहेको हाकाहाकी बताउँछन्। उनका हिसाबले वर्षौँसम्म नेतृत्वमा हुँदा पनि काम नगरेको एन्फा निलम्बित हुँदा धेरै कुरा रोकिएको छैन।
‘यो भन्दा तल नेपाली फुटबल जाने ठाउँ नै छैन,’ उनी भन्छन्।

उनी नेपाली फुटबलसँग संवेदनशील भएको भन्दै साफ च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्न हरसम्भाव प्रयास गरिरहेको बताएका छन्।
‘डिस्क्लोज गर्न नमिल्ने कुराहरु पनि छन्, तर हामीले काम गरिरहेका छौँ। मन्त्रीको हैसियतमा फिफासँग मेरो चार-पाँचवटा इमेल आदानप्रदान भइसकेको छ। एउटा बाटोतिर हामी गइरहेका छौँ,’ उनले भनेका छन्, ‘हाम्रो एकमात्र के हो भने एन्फामा फुटबल बुझेका पदाधिकारी हुनुपर्छ। राखेपमा पनि हामीले खेलकुदबाटै नियुक्ति गरेका छौँ।’
यता खेलाडीहरुले भिडियो बनाउँदै सरकार, एएफसी र फिफालाई फुटबल फिर्ता ल्याउन आग्रह गरेका छन्। भिडियो बनाउने क्रममा पनि कप्तान किरण चेम्जोङले केही खेलाडी लिएर भिडियो बनाउँदा विक्रम लामाको नेतृत्वमा रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले अर्को भिडियो बनाएको छ। खेलाडीमै एकता नभएको यसबाट प्रष्ट देखिन्छ।
अर्कोतर्फ सरकारले ‘नर्मलाइजेसन कमिटी’ बनाउने र फिफाले पुरानै कार्यसमिति पुनर्स्थापनाको हठ नछाडेको बुझिएको छ।










