विराटनगर । नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अवनीशवीर सिंह तुलाधर सिंगापुरमा सिइओ अफ द इयरबाट सम्मानित भएका छन्।
एसिया बिजनेस लिडर्स अवार्डस्ले सिइओ तुलाधरलाई सिइओ अफ द इयरबाट सम्मानित गरेको हो। एसिया बिजनेस लिडर्स अवार्डसले प्रत्येक वर्ष एसिया क्षेत्रका उत्कृष्ट व्यवसायीलाई उनीहरूको नेतृत्व, रणनीतिक इनोभेसन र सम्बन्धित उद्योगमा पुर्याएको रूपान्तरणकारी योगदानको कदर गर्दै सम्मानित गर्दै आएको छ।
नेपाल लिकर्सको डाइरेक्टर अफ अपरेसन्सको काम सम्हालेर एक वर्षअघि सिइओको कार्यभारमा आएका तुलाधरले संकटमा परिसकेको नेपाल लिकर्सलाई लयमा फर्काएका छन्। नेपाल लिकर्सले प्रकाशित गरेको विज्ञप्तिमा तुलाधरले युनिभर्सिटी अफ रिचमन्ड र इसेक बिजनेस स्कुलबाट उच्च शिक्षा हासिल गरेको बताइएको छ।
तुलाधरले बिजमाण्डूसँग भने, ‘यो अन्तर्राष्ट्रिय र प्रतिष्ठित अवार्डले मलाई व्यावसायिक क्षेत्रमा अझ गतिशील र ऊर्जाशील हुन प्रेरित गरेको छ। यो अवार्ड म नेपाल लिकर्सका संस्थापक मेरा हजुरबा स्वर्गीय भक्तवीरसिंह तुलाधरलाई समर्पण गर्दछु। मलाई लाग्छ, यो उहाँकै देन हो।’
भक्तवीरले मोरङको बुढीगंगा गाउँपालिकामा २०३६ सालमा नेपाल लिकर्सको स्थापना गरेका थिए। यस उद्योगले विश्वप्रसिद्ध डियाजियो कम्पनीको फ्रेन्चाइज पार्टनरका रूपमा सिग्नेचर ह्विस्की, स्मिरनोफ भोड्का लगायतका अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा उत्पादन गर्दै आएको छ।










