काठमाडौं। नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत रहेका नेपाली व्यवसायी राजेशकाजी श्रेष्ठ भियतनामको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिने प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित भएका छन्।
नेपाल–भियतनामबीच व्यापार, पर्यटन तथा सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिकाका साथै नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण गर्दै द्विपक्षीय सहयोग अभिवृद्धिमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै मन्त्रालयले श्रेष्ठलाई ‘भियतनामको वैदेशिक सेवामा योगदान’ अन्तर्गत उक्त सम्मान प्रदान गरेको हो।
भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङद्वारा हस्ताक्षरित सम्मानपत्रमा श्रेष्ठले नेपाल–भियतनामबीचको कूटनीतिक सम्बन्ध सुदृढ गर्न, आपसी सहयोग विस्तार गर्न तथा भियतनामको वैदेशिक सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख छ। कन्सुलर प्रतिनिधिमध्ये उत्कृष्ट योगदानका आधारमा उनलाई यो सम्मान प्रदान गरिएको जनाइएको छ।
सम्मान ग्रहणपछि श्रेष्ठले भियतनाम सरकार, परराष्ट्र मन्त्रालय, नयाँ दिल्लीस्थित भियतनाम दूतावास तथा सम्बन्धित सबै निकायप्रति आभार व्यक्त गर्दै नेपाल–भियतनाम सम्बन्धलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउन निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए।
उनले नेपाल र भियतनामबीच प्रत्यक्ष हवाई उडान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसले बौद्ध पर्यटन, व्यापार, लगानी तथा सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताए। नेपाल बुद्धको जन्मस्थल र भियतनाम ठूलो बौद्ध समुदाय भएको मुलुक भएकाले प्रत्यक्ष हवाई सम्पर्कले धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत हुने उनको भनाइ थियो।
श्रेष्ठले लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध पर्यटन प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै प्रत्यक्ष उडान सञ्चालन भए धार्मिक पर्यटनसँगै सांस्कृतिक आदान–प्रदान, शैक्षिक सहकार्य र व्यावसायिक साझेदारी विस्तार हुने विश्वास व्यक्त गरे।









