काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।
मन्त्रालय अन्तर्गतको सिफारिस समितिले योग्य नेपाली नागरिकबाट २१ दिनभित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबारमा दरखास्त पेस गर्न सूचना जारी गरेको हो। सूचना अनुसार उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ।
शैक्षिक योग्यताका हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी उद्योग व्यवसायको क्षेत्रमा विशेषज्ञता हासिल गरेको, कुनै संस्था वा निकायको व्यवस्थापकीय तहमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्छ।
आवेदकले मन्त्रालयको ढाँचा अनुसार व्यक्तिगत विवरण, शैक्षिक योग्यता, नागरिकताको प्रतिलिपि, अनुभवका कागजात, अद्यावधिक बायोडाटा तथा स्वघोषणा फाराम पेस गर्नुपर्छ। साथै उम्मेदवारले प्रतिष्ठान सञ्चालनका लागि बढीमा पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना दुई प्रति सिलबन्दी गरी बुझाउनुपर्छ।
उक्त कार्ययोजनामा ३ वर्षभित्र सम्पन्न गर्न सकिने विषयहरू प्राविधिक तथा व्यावसायिक सूचना र प्रविधि हस्तान्तरण, उद्यमशीलता, व्यवस्थापन विकास र प्राविधिक तथा सीप विकास, सम्पत्ति तथा जनशक्ति व्यवस्थापन, निजी क्षेत्रसँगको समन्वय र सहकार्य, प्रतिष्ठानको पूर्वाधार निर्माण एवं विकास, प्रविधिको उपयोग तथा सुशासन र संस्थागत विकास लगायतबारे हुनुपर्छ।
सरकारी निकाय वा संस्थानमा कार्यरत आवेदकको हकमा विभागीय स्वीकृति पत्र अनिवार्य गरिएको छ। कुनै राजनीतिक दलको सदस्य नभएको, फौजदारी कसूरमा सजाय नपाएको र विदेशी मुलुकको स्थायी आवासीय अनुमति नलिएको स्वघोषणा उम्मेदवारले पेस गर्नुपर्ने मन्त्रालयद्वारा शनिबार प्रकाशित सूचनामा छ।








