संवेदनशील कप्तानगंजमा झण्डा राख्ने विषयमा सामान्य विवाद, राति झडपमा गोली चल्दा ‘ब्ल्याकआउट’



सविन ढकाल
२०८३ साउन १५ गते १५:१८ | Jul 31, 2026
संवेदनशील कप्तानगंजमा झण्डा राख्ने विषयमा सामान्य विवाद, राति झडपमा गोली चल्दा ‘ब्ल्याकआउट’


काठमाडौं। सुनसरीको देवानगञ्ज नगरपालिकास्थित कप्तानगंजमा रहेको चौबाटोको छेउमा नै श्रीराम चोक छ। शिवको मन्दिर रहेको त्यो ठाउँमा हिन्दु समुदायको बाहुल्य भएकै कारण १० वर्षअघि राम चोक राखिएको थियो।

Tata
GBIME

चोकबाट चारतिर जाने बाटोमध्ये एउटा दक्षिततर्फबाट भारतसँग जोडिएको छ। बाँकी तीन वटा बाटो बस्ती, गाउँपालिकाको भवन र अर्को पालिकामा पुग्ने बाटो हुन्।

करिब दुई किलोमिटरको दूरीमा भारत छ। त्यतैतर्फ सानो मुस्लिम बस्ती छ। त्यो बस्तीमा करिब ४० देखि ५० मुस्लिम परिवार बसोबास गर्छन्। हिन्दुको बाहुल्य भए पनि बस्तीमा दुवै समुदायबीच सद्‍भाव नै रहेको स्थानीय बताउँछन्। देवानगञ्ज-३ को जनसंख्या झन्डै ५ हजार रहेको रेकर्डमा भेटिन्छ। त्यसमध्ये केही बाहिर समेत गएका छन्।

शिव चोक नजिकै एउटा अग्लो टावर छ। मन्दिर नजिक मुस्लिम समुदायको बस्ती छ। त्यो टावरमा मोहररम (इस्लाम धर्मावलम्बीको पवित्र नयाँ वर्ष)को समयमा मुस्लिम समुदायले झन्डा राख्ने गर्छ। असार दोस्रो साता उनीहरूले झन्डा राखेका थिए। बाँकी समय भने हिन्दुहरूले बोल बम, जय श्रीराम लेखिएका झन्डा राख्ने गरेका थिए। दुई समुदायबीच झन्डा राख्ने विषयमा सहमति नै हुने गरेको थियो।

‘सहमति अनुसार नै झन्डा राखिने गरिन्छ। तर यस पटक भने मुस्लिम समुदायबाट झन्डा लामो समयदेखि हटेको थिएन। गाउँपालिका अध्यक्षसम्म विषय पुगेको थियो,’ देवानगञ्ज गाउँपालिका-२ का अध्यक्ष जयनारायण महतोले बिजमाण्डूसँग भने।

झन्डा ननिकालेको विषयमा एउटा समूहमा असन्तुष्टि देखिन्थ्यो। साउन १० गते आइतबार राति ९ बजेतिर केही युवाहरू बोल बमको तयारीका लागि त्यही चोकमा भेला भएका थिए।

सुनसरीको चतहराबाट जल ल्याएर शिव मन्दिरमा चढाउनका लागि उनीहरु तयार भएका थिए। त्यहाँबाट करिब २ घण्टाको सवारीमा चतहरा पुगिन्छ। युवाहरूले बोल बमको तयारी गरे। डिजेसमेत बजाए। रातिको समयमा ठूलो ध्वनीमा डिजे बजाएपछि नजिकैको मुस्लिम बस्तीका मानिसले विरोध गरे। त्यसैमा एकाएक दुई समूहबीच भनाभन सुरु भयो। झडप हुने स्थिति आएपछि नजिकै रहेको प्रहरीलाई खबर गरियो।

असईसहित दुई प्रहरी मोटरसाइकलमा पुगे। उनीहरू सम्झाउन थाले। भोलि बिहान कुरा गर्ने भन्दै उनीहरू फर्किने तयारीमा थिए। प्रहरी माथि नै आक्रमणको प्रयास पनि भयो।

‘सम्झाउँदा सम्झाउँदै स्थिति फरक बन्यो। त्यसपछि हामीले थप फोर्स मागेका थियौँ,’ घटनास्थलमा पुगेका एक प्रहरीले सुनाए।

त्यसपछि कप्तानगंजमा नै रहेको प्रहरी चौकीबाट प्रहरी निरीक्षकको कमान्डमा सात जनाको टोली पुग्यो। समय रातिको १० बजिसकेको थियो। सम्झाउँदा सम्झाउँदै विवाद बढ्दै गयो। हो-हल्ला हुँदै गएपछि थप मानिसको भिड लाग्न थाल्यो। एक्कासी प्रहरी निरीक्षकको टाउकामा लठ्ठी प्रहार भयो। त्यसपछि निरीक्षकले आफूले बोकेको पेस्तोलबाट तीन राउन्ड हवाई फायर गरे।

घटना एकाएक बिग्रियो। त्यतिखेरसम्म घटनास्थलमा नेपाल प्रहरी मात्र थियो। झन्डै १ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको बेस थियो। गोली चलेपछि अन्य मानिस आए। खबर पुगेपछि सशस्त्र प्रहरी पनि डीएसपीको कमान्डमा घटनास्थल पुग्यो।

प्रहरी निरीक्षकलाई चोकमा रहेको मेडिकल लगियो। पाँच वटा टाँका लगाइयो। तर, घटना झन् बिग्रिन थाल्यो। सशस्त्र प्रहरीले घटना नियन्त्रणमा लिन भन्दै गोली प्रहार गर्‍यो। सशस्त्रले एसएलआरबाट २० राउन्ड गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

नेपाल प्रहरीको पेस्तोलबाट ६ वटा गोली चलेको प्रारम्भिक रिपोर्टमा देखिएको छ। गोली घुँडा भन्दामाथि नै लागेको देखिएको छ। घटनास्थलमा ज्यान गुमाएका युवा जयप्रकाश मेहतालाई कुन हतियारबाट गोली लागेको थियो भन्ने खुल्न सकेको छैन।

यो घटनामा केही शंकास्पद गतिविधि भएको देखिएको छ। गोली चल्दाचल्दै त्यहाँ बिजुली गएको थियो। गोली चलिरहेको समयमा झ्याप्प बिजुली गएको विषय शंकास्पद रहेको सुरक्षा अधिकारीहरुले बताएका छन्।

झडप, गोली प्रहार र बत्ती जानुलाई अहिले एकैसाथ जोडेर हेरिएको छ। बिजुली गएको समयमा प्रहरीबाहेक अरु नै व्यक्तिले हिंसा भड्काउन चलखेल गरेको समेत आशंका गरिएको छ। ‘साम्प्रदायिक दंगा फैलाउने हिसाबले चलखेल गरेको हुनसक्छ। त्यसका बारेमा छानबिन समितिले हेरिरहेको होला,’ एक प्रहरीले भने।

झडप भइरहेको र प्रहरीले नियन्त्रणका लागि गोली चलाएका बेलामा बिजुली गएको विषयमा प्रश्न उठेपछि नेपाल विद्युत प्राधिकरणले समेत छानबिन थालेको छ। राति १० बजे र त्यसको केही समयपछि दुई पटक त्यो क्षेत्रमा बिजुली गएको खुलेको छ। प्राधिकरणको ११ केभी लाइनमा ट्रिपिङ भएर १० बजे लाइन गएको सोधपुछबाट खुलेको छ।

‘राति १० बजे कुनै बोटविरुवाले छोएर ट्रिपिङ भएर लाइन गएको जानकारी आएको छ,’ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले बिजमाण्डूसँग भने, ‘त्यसको केही समयमा बिजुली आएको थियो। त्यसको केही समयपछि ओभरलोड भएर ट्रिपिङ भएको प्रारम्भिक रिपोर्ट आएको विषय छानबिन समितिलाई दिइएको छ।’

दोस्रो पटक बिजुली गएपछि भने लामो समयसम्म आएको थिएन। श्रेष्ठका अनुसार बिजुली गएको विषयमा प्राधिकरणका कोशी प्रदेश प्रमुखबाट पनि छानबिन भइरहेको छ। ‘उहाँले पनि त्यसबेलाको सबै डेटा डाउनलोड गरेर हेरिरहनुभएको छ,’ श्रेष्ठले भने।

आइतबार राति देवानगञ्जमा दुई समूहबीच भएको झडपका सम्बन्धमा छानबिन गर्न गत सोमबार गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएकामा भोलिपल्ट ब्यालिस्टिक र फरेन्सिक हेर्ने प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई पनि थपिएको छ।

घटना हुँदा सुनसरीका प्रहरी प्रमुख र कोशी प्रदेशका प्रहरी प्रमुख विनोद घिमिरे दुवैजना विदामा थिए। त्यसपछि सीडीओ वासुदेव घिमिरेदेखि त्यहाँ खटिएका सबै सुरक्षाकर्मीको सेट नै फेरिएको छ।

कप्तानगन्जबाट सल्किएको आगो सुनसरीमा कम हुँदै गए पनि अन्य जिल्लामा फैलिएको छ। सरकारलाई विभिन्न समयमा बुझाएका प्रतिवेदनमा अल्पसङ्ख्यामा रहेका फरक धर्मका बस्तीमा अन्य पक्षबाट समेत खेल्न सक्ने संकेत गरिएको थियो। । तर कार्यान्वयन नहुँदा र राज्यले समयमा नै एक्सन नलिँदा कप्तानगञ्ज घटना दोहोरिएको जानकारहरु बताउँछन्।

‘अल्पसङ्ख्यक समुदायमा धर्मको नाममा अन्य समूहले खेल्ने गरेको जानकारी राज्यलाई छ। तर यसलाई महत्त्व नदिँदा यस्ता घटना दोहोरिरहेका छन्,’ सुरक्षाविद् डा. इन्द्र अधिकारीले भनिन्।