काठमाडौं । मुस्ताङमा रहेको शिन्तामणि विश्वकै उत्कृष्ट लक्जरी रिसोर्टको पहिलो नम्बरमा परेको छ। विश्वभरको लक्जरी रिसोर्टको अनुसन्धानका आधारमा लाइफ स्टाइल म्यागेजिन रोबले शिन्तामणिलाई उत्कृष्ट सूचीमा राखेको हो।
यो म्यागेजिनले सन् २०२३ देखि ५० उत्कृष्ट लक्जरी रिसोर्ट सार्वजनिक गर्दै आएको छ। यो अध्ययनका लागि २४ जना ट्राभलरले लक्जरी रिसोर्टको अध्ययन गर्छन्। उनीहरुलाई नियमित रुपमा पाँच मन पराएका होटलको नाम सिफारिस गर्न भनिन्छ। उनीहरुलाई त्यो रिसोर्ट किन अरुभन्दा फरक छन् भन्ने पनि खुलाउन भनिएको हुन्छ।
‘यो सूचीमा रहेका रिसोर्ट वा होटलहरुको सूक्ष्म रुपमा मूल्यांकन र उपभोक्ताले दिएको फिडब्याकका आधारमा अनुमोदन गरिन्छ,’ रोब रिपोर्टमा भनिएको छ।

यती समूहको शेर्पा हस्पिटालिटीले निर्माण गरेको यो होटल तिब्बती शैलीको वास्तुकलामा आधारित रहेको छ। होटल विश्वप्रसिद्ध बेन्स्ली डिजाइनमा यसको निर्माण गरिएको हो।
होटलमा प्रति रातको शुल्क दुई जनाका लागि १८ सय अमेरिकी डलर (पौने ३ लाख रुपैयाँ) बाट सुरु हुन्छ। स्वीट रुमको २२ सय डलर (सवा ३ लाख रुपैयाँभन्दा बढी) सम्म रहेको छ।
समुद्री सतहबाट २ हजार ८०० मिटर उचाइमा रहेको यो रिसोर्टमा २९ वटा कोठा रहेका छन्। यो रिसोर्टमा बस्नका लागि विदेशीका लागि न्यूनतम पनि पाँच दिनको बुकिङ गर्नुपर्ने प्रावधान रहेको छ। पाँच दिन पर्यटकलाई विभिन्न गतिविधिमा संलग्न हुन अवसर यो प्याकेजले दिन्छ।
मार्फामा रहेको रिसोर्टमा पाहुनालाई लोकल कुखुरा दाउरामा पकाएर पस्किने गरिन्छ। त्यसपछि अर्को दिन घोडामा चढाएर ढुम्बा ताल लगिन्छ। त्यहाँ पनि दाउरामा खाना पकाएर पर्यटकलाई पस्किने गरिन्छ।

तेस्रो दिन भने ओडारमा लगेर पर्यटक राखिन्छ। चौथो दिनमा मुक्तिनाथ मन्दिर वरपर लगेर घुमाउने र आयुर्वेदिक मसाज, योगा लगायतका गतिविधमा संलग्न गराएर पाँच दिनको प्याकेज पूरा गरिन्छ।
स्रोतका अनुसार रिसोर्टका रुम भने नेपालीका लागि न्यूनतम पनि एक लाख रुपैयाँमा बिक्री गरिँदै आएको छ। कोठाको मूल्य महँगो भएका कारण यो रिसोर्टमा अकुपेन्सी भने कम छ।
‘विदेशमा राम्रै कमाई गर्ने पर्यटकहरुको रोजाईंमा यो रिसोर्ट पर्ने गरेको छ। कुनै एजेन्सी वा नेपालमा रहेका कूटनीतिक नियोगका व्यक्तिहरु आउने गर्छन्,’ स्रोतले भन्यो, ‘केही नेपालका उद्योगी व्यापारी र बैंकरहरु पनि जाने गरेका छन्।’

सुरुमा मोक्ष ब्राण्डमा रिसोर्ट संचालनमा थियो। यो रिसोर्टको लागत १ अर्ब २५ करोड रहेको छ।









