काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतरले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ। वीपी स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंको कमलादीमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले भेलाको मिति घोषणा गरेका हुन्।
सातै प्रदेशमा कार्यक्रम गरेर भेलाको तयारी गर्ने सिंहले बताए। ‘विशेष महाधिवेशनले पार्टी कब्जा गरेकाले हामी सातै प्रदेशमा भेला गर्दैछौं। त्यसपछि साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला हुन्छ। यो हाम्रो थ्रेट होइन, काम गरेर देखाउने हो,’ सिंहले भने।
संस्थापनइतर समूहले राष्ट्रिय भेलाको संयोजनको जिम्मेवारी सिंहलाई दिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई २९ गतेसम्म पर्खने र एकताको पहल नगरे पार्टी फुटाउने संस्थापनइतरको चेतावनी छ।










