काठमाडौं। नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित आफ्नो आधिकारिक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ।
महासंघको सचिवालय कार्यालय त्रिपुरेश्वरमा मंगलबार आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेश कुमार अग्रवालले डिजिटल प्लेटफर्मको औपचारिक शुभारम्भ गरेका हुन्।
उद्घाटन समारोहमा अध्यक्ष अग्रवालले सूचना प्रविधिको प्रयोगले व्यवसायलाई आधुनिक, व्यवस्थित र पारदर्शी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले डिजिटल प्रणालीबाट सेवा प्रवाह, सूचना आदान-प्रदान र व्यवसाय संचालन अझ छिटो, सहज र विश्वसनीय बन्ने विश्वास व्यक्त गरे।
महासंघका अध्यक्ष किसान सुनारले वेबसाइट र मोबाइल एप व्यवसायीहरूको दैनिक आवश्यकता तथा व्यवसाय व्यवस्थापनलाई सहज बनाउन तयार गरिएको जानकारी दिए। उनका अनुसार महासंघले सदस्य व्यवसायीलाई एउटै डिजिटल प्लेटफर्ममार्फत आवश्यक सूचना, सेवा र व्यवस्थापनसम्बन्धी सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ।
वेबसाइट र मोबाइल एपमार्फत सदस्यहरूले सुनचाँदीको दैनिक बजार मूल्य, महासंघका सूचना तथा परिपत्र, ऐन/नियम, कार्यक्रमका विवरण र अन्य आवश्यक जानकारी सहजै प्राप्त गर्न सक्नेछन्। महासंघका अनुसार यस प्रणालीले व्यवसायलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
कार्यक्रममा देशभरका सदस्य संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको भौतिक र अनलाइन माध्यमबाट उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग, सेवाको विस्तार र भविष्यमा थप सुविधाहरू समावेश गर्न सुझाव दिएका थिए।










