काठमाडौं। माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन्।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो।
काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा करिब दुई दशक काम गरेको अनुभव छ।
अर्यालले माछापुच्छ्रे बैंकमा प्रवेशअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा विभिन्न पदमा रहेर काम गरेका थिए।
सञ्चालक समितिले नायव महाप्रबन्धक सुभाष जमरकट्टेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ।

वित्तीय तथा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गरेका जमरकट्टेल अनुभवी चार्टर्ड एकाउन्टेन्ट हुन्। इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुनमा स्नातक गरेका छन्।
उनले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)बाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन्।










