अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीका लागि स्टल बुकिङ खुला, १० देशका प्रदर्शक सहभागी हुने



बिजमाण्डू
२०८३ साउन २ गते १२:२२ | Jul 18, 2026
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीका लागि स्टल बुकिङ खुला, १० देशका प्रदर्शक सहभागी हुने


काठमाडौं । भृकुटीमण्डपमा हुने अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ का लागि स्टल बुकिङ खुला गरिएको छ। आगामी मंसिर ४ मा सुरु हुने तीनदिने प्रदर्शनीका लागि शुक्रबारदेखि स्टल बुकिङ खुला गरिएको आयोजकले जनाएका  हुन्। 

Tata
GBIME

कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि विभागको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुने प्रदर्शनीको मूल नारा ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ छ।

आयोजकका अनुसार प्रदर्शनीमा स्वदेशीसहित करिब १० देशका एक सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शक सहभागी हुनेछन्। दुई सयभन्दा बढी स्टलमार्फत करिब दुई हजार प्रकारका आधुनिक कृषि औजार, उपकरण, यन्त्र तथा नवीनतम प्रविधि प्रदर्शन गरिनेछ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिता नेमाफुकीका अनुसार यस वर्षको प्रदर्शनी विगतका संस्करणभन्दा थप बृहत् र प्रविधिमैत्री हुनेछ। संघले यसअघि पाँच राष्ट्रिय, एक प्रादेशिक र एक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सफलतापूर्वक आयोजना गरिसकेको छ।

प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती, आधुनिक सिँचाइ प्रणाली, पोस्ट–हार्भेस्ट प्रविधि, कृषि उपज प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित यन्त्र–उपकरण तथा उन्नत बीउबिजन प्रदर्शन गरिनेछ। कृषक, उद्यमी र सर्वसाधारणका लागि प्रवेश निःशुल्क हुनेछ।

आयोजकका अनुसार ‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’ अन्तर्गतका स्वदेशी कम्पनीलाई विशेष सहुलियत दिइनेछ। प्रदर्शनीले कृषक, उद्यमी, उत्पादक, आयातकर्ता, अनुसन्धानकर्ता र नीति निर्माताबीच सहकार्य विस्तार गर्नुका साथै कृषि क्षेत्रमा नयाँ लगानी र आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।