काठमाडौं। नेपालबाट थप ५५० मेगावाट विद्युत लान भारत सहमत भएको छ। दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतले नेपालबाट १,६५० मेगावाट विद्युत लान सहमति जनाएको हो।
यो सहमतिले वर्षायाममा बिजुली खेर जाने समस्या समाधानमा नेपाल विद्युत प्राधिकरणलाई सहयोग पुग्नेछ। प्राधिकरणले वर्षायाममा बढी भएको बिजुली अहिले ११०० मेगावाटभन्दा बढी निर्यात गर्न पाउँदैन।
यस्तै सुक्खायामका बेला नेपाललाई थप ४०० मेगावाट बिजुली दिन पनि भारत तयार भएको छ। हाल भारतबाट १००० मेगावाट बिजुली आयात गर्न अनुमति रहेकामा अब १४०० मेगावाटसम्म ल्याउने बाटो खुलेको हो।
ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट हुने संयुक्त विद्युत प्रवाहको क्षमता बढाउन सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ।
दुई देशका ऊर्जा सचिवको बैठक बुधबार पोखरामा बसेको थियो। बैठकमा हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट भइरहेको विद्युत आयात-निर्यातको समीक्षा गरिएको थियो।

बैठकको अध्यक्षता ऊर्जा सचिव सरिता दवाडीले गरेकी थिइन्। भारतीय टोलीको नेतृत्व त्यहाँको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालले गरेका थिए।
सहसचिवस्तरीय संयुक्त कार्यदलको मंगलबार बसेको बैठकले गरेका सिफारिसका आधारमा भारतले नेपालबाट थप बिजुली लान सहमति जनाएको हो। सहसचिवस्तरीय बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले गरेका थिए। भारतका तर्फबाट विद्युत मन्त्रालयका सहसचिव पंकज कुमार नेतृत्वको टोली बैठकमा सहभागी थियो।
सचिवस्तरीय बैठकले चमेलिया (नेपाल) देखि धौलीगंगा (भारत)सम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ। यो आयोजना सन् २०२८ को डिसेम्बरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
नेपाल र भारतबीच इनरुवा-न्यू पुर्निया र दोधfरा (न्यू लम्की)-बरेली ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डियाबीच सेयरधनी सम्झौता र संयुक्त उपक्रम (जेभी) सम्झौता सम्पन्न भइसकेको छ। यी आयोजनाको निर्माण कार्य अगाडि बढाउन संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने सहमति भएको छ।

सन् २०३४/३५ सम्म नेपालबाट थप विद्युत भारत निर्यात गर्न आवश्यक पर्ने अन्तरदेशीय प्रसारण निर्माणको विषयमा पनि सहमति भएको छ। मोतिहारी (भारत)-निजगढ (नेपाल) ४०० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरिएको छ।
मुजफ्फरपुर-ढल्केबर ४०० केभी प्रसारण लाइनमा एचटीएलएस कन्डक्टर प्रयोग गरी क्षमता विस्तार गर्ने कार्य सम्बन्धी विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गरिएको छ। लखनऊ (भारत)-कोहलपुर/लम्ही (नेपाल) ४०० केभी प्रसारण लाइनको हकमा थप प्राविधिक अध्ययन गरी टुङ्गो लगाउने सहमति भएको छ।
नयाँ बुटवल-गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको निर्माण कार्य आगामी अगस्टसम्म र नयाँ बुटवल सबस्टेसनको ४०० केभी निर्माण कार्य २०२७ डिसेम्बरसम्म सम्पन्न हुने देखिएको छ। सो समयसम्मका लागि यस प्रसारण लाइनलाई तत्काल २२० केभीमा सञ्चालन गर्ने प्राविधिक सहमति भएको मन्त्रालयले जनाएको छ।
यो प्रसारण लाइन उपयोग गरी १३० मेगावाटसम्म विद्युत आयात र २०० मेगावाटसम्म विद्युत निर्यात गर्न सकिने गरी निर्माण कार्य अगाडि बढाउने सहमति भएको छ।











