काठमाडौं। प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले श्रेष्ठलाई सोमबार नियुक्तिपत्र दिएका छन्।
श्रेष्ठ बिजमाण्डूले यसअघि सञ्चालन गरेको अनलाइन पहिलोपोष्टका संस्थापक सम्पादक हुन्।
मन्त्री तिमिल्सिनाले श्रेष्ठलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा छनोट गरेको बताए।
उनले अहिले गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको पहिचान गरी समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रलाई बलियो बनाउनका लागि काउन्सिलले सकारात्मक हस्तक्षेप गर्नुपर्नेसमेत बताएको उनको सचिवालयले जनाएको छ।
श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिल सम्बन्धी कानुन पुराना रहेको भन्दै समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिए। उनले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमन प्रणाली थप सुदृढ बनाउनु आफ्नो प्राथमिकता भएको बताए।









