बालेनले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई भने- बर्न उपचार केन्द्र खोल्ने योजना अघि बढाउनू



बिजमाण्डू
२०८३ असार २९ गते १७:०१ | Jul 13, 2026
बालेनले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई भने- बर्न उपचार केन्द्र खोल्ने योजना अघि बढाउनू


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

Tata
GBIME
Nepal Life

उनले सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिए।

प्रधानमन्त्री शाहले जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

उनले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार र प्रविधिको प्रयोगमाजोड दिए।

बालेनले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकलाई निजी अस्पतालले ओपीडी सेवाको कम्तीमा १० प्रतिशत सेवा नि:शुल्क रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए।

प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा सुधार, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन लगायत विषयमा आ आफ्नो धारणा राखेका थिए।

छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा नारायणसिंह गुरुङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा स्मृति काफ्ले र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी थिए। उनीहरुले यही असार २५ गते नियुक्ति पाएका थिए।