काठमाडौं। गणेश नेपालीको आत्मदाहपछि एकाएक बालेन शाहको विरोधमा सामाजिक सञ्जालदेखि संचारमाध्यमसम्म जुर्मुराए।
तीन महिनाको अवधिमै देशभरीबाटै आक्रोश र विरोध भएपछि त्यसको समीक्षा र अध्ययन शाह पक्षले गर्न थाल्यो। यो विरोधका पछाडि कसको हात छ? स्रोतका अनुसार काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले राजनीतिक उद्देश्यसहित नगर प्रहरीलाई परिचालन गरेको निष्कर्ष निकालियो।
स्रोतका अनुसार एमालेको योजना अनुसार डंगोलले नगर प्रहरीलाई थप आक्रामक बनाएको उनीहरुको बुझाइ थियो। ‘बालेन शाहले छाडेपछि नगर प्रहरीको व्यवहार आक्रामक थियो। बोलीदेखि व्यवहारसम्म राम्रो थिएन। त्यसको परिणाम नेपालीको घटना हुन पुग्यो,’ स्रोतले भन्यो, ‘त्यसपछि विरोधमा एमाले, कांग्रेस र नेकपा (साबिकको माओवादी) उत्रिए।’ उनीहरुको योजनालाई निस्तेज बनाउनका लागि रणनीतिक रुपमा यो योजना बनाइएको हो।
शाह पक्षको बुझाइ प्रमुख संचारमाध्यम पनि त्यही राजनीतिक लेपमा एकाएक प्रधानमन्त्री र सरकारको विरुद्धमा उत्रिएका हुन्। ‘नेपालीको आत्मदाहमा सरकार वा प्रधानमन्त्री शाहको भूमिका केही थिएन। तर पनि संचारमाध्यमले समेत प्रधानमन्त्रीज्यूलाई नै निसानामा राखेर समाचार सम्प्रेषित गर्न थाले,’ स्रोतले भन्यो, ‘त्यसपछि शनिबार र आइतबार यसका विरुद्धमा जानका लागि रणनीति बनेको हो।’
नेपालीको आत्मदाह घटनामा संघ सरकार नभइ काठमाडौं महानगरपालिका दोषी रहेको गृहमन्त्री सुदन गुरुङले संसद्मै बोलेका थिए। घटनापछि आइतबारको वार्तामा पनि नेपालीको परिवारका लागि अधिकतम दायित्व महानगरपालिकालाई बोकाएर सहमति गराएको थियो।
स्रोतका अनुसार शनिबार र आइतबार राजधानीका प्रमुख ठाउँ विशालबजार लगायतका क्षेत्रमा पार्किङ अस्तव्यस्त बनाइएको थियो। उनीहरुले योजनाबद्ध रुपमै बाइक र स्कुटर छाडेर राखिदिएका थिए।
सँगै फूटपाथमा पसल थाप्न लगाइएको थियो। ‘यो डंगोलले गरेको क्रियाकलाप र अरु राजनीतिक दलले राजनीतिक रङ दिएर प्रधानमन्त्री र सरकारविरुद्ध थालिएको विरोधका लागि गरेका थियौं,’ योजनामा सहभागी एक सदस्यले बिजमाण्डूसँग भने। उनका अनुसार त्यही योजना अनुसार सोमबार संचारमाध्यमका गेट अगाडि गाडी राखिएको हो। स्रोतका अनुसार त्यही योजना अनुसार बालेन पक्ष निकट रहेर काम गरिरहेकाले गाडी भएका व्यक्तिलाई टेलिफोन गरेर उपलब्ध गराइदिन समेत आग्रह गरेका थिए।
संचारमाध्यम अगाडि राखिएका केही गाडी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)निकटको रहेको समेत पाइएको छ। तीनकुनेमा कान्तिपुर मिडिया ग्रुपको कार्यालयको गेट अगाडि राखिएको विद्युतीय जे-६ गाडी रवि जयसवालको नाममा रहेको खुलेको छ। जयसवाल रास्वपा निकट हुन्।
स्रोतका अनुसार कान्तिपुर अगाडि किन गाडी राख्नुभएको हो? भनेर उनको निकटले सोध्दा ‘तपाईंहरुले थाहा पाउनुहुन्छ’ भनेर जवाफ दिएका थिए। उनले गाडी नहटाउने समेत जानकारी दिएका थिए। यो जवाफले पनि योजनाबद्ध रुपमै शाह पक्षले गाडी राखेको देखिएको छ।









