बालेनले हटाएको सुकुम्बासी बस्तीमा धमाधम बन्दैछ हरियाली पार्क, बहाब फर्काउन नदीमा डोजर



टुना भट्ट
२०८३ असार २६ गते १५:५७ | Jul 10, 2026
बालेनले हटाएको सुकुम्बासी बस्तीमा धमाधम बन्दैछ हरियाली पार्क, बहाब फर्काउन नदीमा डोजर


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्बासी बस्ती हटाएर खाली बनाएका स्थानमा पार्कदेखि ढल प्रशोधन केन्द्र बनाउनका लागि धमाधम काम थालिएको छ। ती ठाउँमा अहिले माटो फिलिङदेखि रिटेनिङ वालसम्मका काम भइरहेका छन्।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र आसपासका नदी किनारमा अहिले नदीको बहाब व्यवस्थापन, करिडोर सडक कालोपत्रे, ढल प्रशोधन केन्द्र निर्माण र हरियाली पार्क बनाउने काम अगाडि बढाइएको छ।

सुकुम्बासी बस्ती हटाएसँगै बागमती, विष्णुमती, मनोहरालगायत नदी किनारलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने कार्य अगाडि बढाइएको हो।

काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यी क्षेत्रलाई यूएनपार्कको अवधारणामा विकास गर्न लागेका छन्।

समितिका अध्यक्ष आनन्द सिंह भाटका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा ढल सुधारको काम गरिरहेको छ।

ढल प्रशोधन केन्द्र त्रिपुरेश्वरमा

बागमती, विष्णुमती, मनोहरालगायत नदीलाई ढलमुक्त बनाउन सुकुम्बासी बस्ती हटाइएको त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुल पछाडि ढल प्रशोधन केन्द्र निर्माणको काम अगाडि बढाइएको छ।

यसबाहेक बागमती, विष्णुमती, धोबीखोला, टुकुचा, मनोहरा र यसका सहायक नदीका करिडोरमा पनि धमाधम मुख्य ढल बिछ्याउने कार्य भइरहेको अध्यक्ष भाटले जानकारी दिए। नदीमा सीधै फोहोर मिसाउन रोक्नका लागि नदीका दुवै किनारमा ढलको पाइपलाइन बिछ्याउने काम तीव्र पारिएको हो।

हरियाली पार्क निर्माण र सम्पदा संरक्षण

नदी किनारका सुकुम्बासी बस्ती खाली गरेका ठाउँमा हरियाली पार्क निर्माण कार्य धमाधम अघि बढेको छ। समितिका अध्यक्ष भाटका अनुसार नदी किनार र आसपासका सांस्कृतिक सम्पदाको जिर्णोद्धार र पुनर्निर्माणमा पनि उत्तिकै ध्यान दिइएको छ।

‘खाली गरिएका नदी किनारका क्षेत्रलाई सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने खुला पार्कका रूपमा मात्र विकास गरिँदैछ,’ उनले भने, ‘अहिले कुलेश्वर, टेकु, शंखमुल क्षेत्रमा वृक्षारोपण तथा दुवो विच्छ्याउन थालिएको छ। थापाथलीको वस्ती खाली गरिएको क्षेत्रमा भने निर्माण कार्य भएको छैन।’

भाटका अनुसार थापाथलीमा सुकुम्बासी वस्ती हटाइएको स्थानमा पनि पार्क बनाइनेछ।

शंखमुलमा सुकुम्बासी बस्ती भत्काइएको क्षेत्रमा पार्क निर्माणका लागि सम्याउने, वाल लगाउने काम भइरहेको छ। अब माटो फिलिङ गर्दै विरुवा रोप्ने योजना छ।

त्रिपुरेश्वर क्षेत्रमा पुरातात्विक सम्पदा पुरानै शैलीमा पुनर्निर्माण र जिर्णोद्वारको काम भइरहेको छ। भत्किएका संरचनाको पुनर्निर्माण र जिर्ण संरचनामा रंगरोगन गर्ने कामलाई प्राथमिकतामा राखिएको छ ।

नदीको बहाव परिवर्तन गर्न ड्रेजिङ

भाटले उपत्यकाका नदीको प्राकृतिक बहाव पुर्नस्थापना गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए। उनका अनुसार अहिले नदीमा पर्खाल लगाउने तथा ल्यान्डस्केपिङका कामलाई तीव्रता दिइएको छ।

अहिले नदीका बालुवा हटाउने (ड्रेजिङ) काम भइरहेको छ। नदीको सतहमा जमेका बालुवा, माटो, लेदो तथा फोहोर निकालेर नदीलाई गहिरो बनाउन डोजर प्रयोग गरिएको छ।

उपत्यकामा बाढी नियन्त्रण, डुवान न्यूनीकरण र नदीको बहाब सुधारका लागि ड्रेजिङ उपयुक्त उपाय मानिन्छ। ड्रेजिङ गरेर नदीको चौडाइ फराकिलो बनाइँदै छ। यसले नदी किनारमा हुने डुबानको समस्या समाधानमा सहयोग गर्नेछ।

बागमती नदीको कुलेश्वर, त्रिपुरेश्वर, थापाथली र शङ्खमूल क्षेत्रमा प्राकृतिक बहाबलाई पुनर्स्थापित गर्न नदीको चौडाइ बढाउने काम भइरहेको हो।

वस्ती खाली गरेर सडक

सुकुम्बासी बस्ती खाली गरिएका नदी किनारमा करिडोर निर्माण, सडक स्तरोन्नति र नयाँ ट्र्याक खोल्ने काम अगाडि बढाइएको छ। कुलेश्वर र सुन्दरीघाट क्षेत्रमा ट्र्याक खोलेर सडक कालोपत्रे गरिएको छ। जसले गर्दा कालिमाटी क्षेत्रमा सवारी चाप कम भएको छ।

विष्णुमती करिडोरको कुलेश्वर, बल्खु र टोखा खण्डमा कालोपत्रेको काम भइरहेको छ।

उत्तरी क्षेत्रमा पनि नयाँ ट्र्याक निर्माणको काम थालिएको छ। बुढानीलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमति करिडोरमा नयाँ ट्र्याक खोल्ने कार्य सुरु भएको छ।

२० वर्षे एकीकृत गुरुयोजना

साँघुरिंदै गएका उपत्यकाका नदीनाला व्यवस्थापनका लागि सरकारले २० वर्षे गुरुयोजना अघि सारेको छ। सरकार, काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले एकीकृत गुरुयोजनाअन्तर्गत काम गरिरहेका छन्। गुरुयोजना कार्यान्वयनका लागि तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान छ।