काठमाडौं। मुगुका गणेश नेपालीको मृत्युलाई लिएर विपक्षी दलहरुले सरकारमाथि प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा विपक्षी दलका सांसदहरुले गणेशको हत्याको जिम्मा सरकारले लिनुपर्ने बताएका छन्।
उनीहरुले राज्य आतंकका कारण गरिब नेपालीहरुले बाध्य भएर आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्दै गणेशको मृत्युको जिम्मा सरकारले लिनुपर्ने बताए।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले राज्य आतंकका कारण गणेश नेपालीको ज्यान गएको भन्दै यो घटनामा प्रधानमन्त्रीज्यूको मौनता किन? भनी प्रश्न गरिन्। ‘राज्य आतंकका कारण गणेश नेपालीको ज्यान गए। यो घटनामा प्रधानमन्त्रीज्यूको मौनता किन? अब कालो चस्मा खोल्ने बेला आयो,’ उनले भनिन्।
एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले नागरिकलाई आत्मदाह गर्नुपर्ने परिस्थिति सिर्जना गरेको भन्दै यसको जिम्मा बालेनद्र सरकारले लिनुपर्ने बताए।
‘राज्यले नागरिकलाई आत्मदाह गर्ने परिस्थिति सिर्जना गरिरहेको छ। गणेश नेपालीको मृत्युको जिम्मेवार बालेन्द्र सरकार हो। यसको मूल्य चुकाउनुपर्छ। सरकार मुर्दावाद भन्न चाहन्छु,’ उनले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सरकारमाथि गरिबहरुलाई बाँच्न नदिने व्यवहार गरिरहेको आरोप लगाए। ‘काठमाडौं सहरमा गरिबले बस्न नपाउने हो? गरिब बाँच्न नपाउने भए। जनताले थेग्न नसक्ने नीति नियम नबनाऔं। यहाँ सबै अरबपति छैनन्,’ उनले भने।
पठाओ चलाएर जीविका चलाउँदै आएका गणेशले आत्मदाहका लागि बिहीबार अपराह्न पेट्रोल छर्किएकामा उपचारका क्रममा शुक्रबार उनको निधन भएको छ।
सरकारले गत वैशाख दोस्रो साता काठमाडौंको सुकुम्बासी वस्ती डोजर लगाएर खाली गराउँदा पीडा सहन नसकेर एकजनाले नदीमा हामफालेर आत्महत्या गरेका थिए।










