निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रवि सिंहका सहित १० कम्पनी कालोसूचीमा



बिजमाण्डू
२०८३ असार २६ गते ०७:५२ | Jul 10, 2026
निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रवि सिंहका सहित १० कम्पनी कालोसूचीमा


काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रवि सिंहका सहित १० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखेको छ।

Tata
GBIME
Nepal Life

कार्यालयको २०८३ असार २५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो कदम चालिएको हो।

सूचना प्रकाशित भएको मिति २०८३ असार २६ गतेदेखि लागू हुने गरी ती कम्पनीहरुलाई निश्चित अवधिका लागि कालोसूचीमा राखिएको हो। यो अवधिभर उनीहरूले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

यस निर्णय अन्तर्गत हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीको सिफारिसमा पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती निर्माण सेवाको ‘श्री पप्पु/महादेव जे.भी.’ लाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ।

सोही कार्यालयको सिफारिसमा ‘श्री श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि.’ पनि ३ वर्षकै लागि कालोसूचीमा परेको छ।

यसैगरी, बाजुराको त्रिवेणी नगरपालिकाको सिफारिसमा ‘ग्लोबल ड्रग्स सप्लायर्स’ लाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय कुश्माको सिफारिसमा ‘श्री भारत/सिद्धिसाई जे.भी.’ लाई १ वर्ष ६ महिनाका लागि प्रतिबन्ध लगाइएको छ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवलको सिफारिसमा ‘श्री लुम्बिनी मोटर्स एण्ड पम्प इन्डष्ट्रिज प्रा.लि.’ १ वर्षका लागि कालोसूचीमा परेको छ।

पूर्वाधार विकास निर्देशनालय वीरेन्द्रनगरको सिफारिसमा ‘श्री हिरा नेपाली निर्माण सेवा’ लाई २ वर्षका लागि प्रतिबन्धित गरिएको छ।

त्यस्तै, सडक डिभिजन हर्कपुर ओखलढुंगाको सिफारिसमा दुईवटा कम्पनीहरू कारबाहीमा परेका छन्। जसमा ‘श्री मायूमी कन्स्ट्रक्सन प्रा.लि.’ लाई १ वर्ष र ‘श्री शुभम् निर्माण सेवा’ लाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ।