काठमाडौं। नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको स्वागत गरेको छ।
निक्कीले मूल्य स्थायित्व कायम राख्दै उच्च आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यसहित सतर्कतापूर्वक लचिलो नीति ल्याइएको भन्दै स्वागत गरेको हो।
मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र राखेर ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न आवश्यक मौद्रिक सहजीकरण गर्ने गरी नीतिगत दर यथावत् राख्ने, बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम गर्ने, ब्याजदर करिडोरलाई निरन्तरता दिने तथा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई कायम राख्ने निर्णयले निजी क्षेत्रको मनोबल बढ्ने र लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने निक्कीले बताएको छ।
निक्कीले बुधबार प्रेस विज्ञप्तिमार्फत नियमन सरल बनाउने, डिजिटल वित्तीय सेवा प्रवर्धन गर्ने, व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली विकास गर्ने, निष्क्रिय कर्जा व्यवस्थापन सुधार गर्ने तथा विदेशी विनिमय व्यवस्थापनलाई थप सहज बनाउने मौद्रिक नीतिका व्यवस्था सकारात्मक भएको बताएको छ।
निक्कीले उत्पादनमूलक उद्योग, जलविद्युत, कृषि, पर्यटन, सूचना प्रविधि र निर्यातमुखी उद्योगमा लगानी विस्तार गर्ने वातावरण सुदृढ गरिनु पर्नेमा जोड दिएको छ। ।
लगानी स्वीकृति, विदेशी लगानी, रोयल्टी, प्राविधिक सेवा शुल्क, विदेशी मुद्रा सटही तथा लगानी फिर्ता सम्बन्धी प्रक्रियालाई थप सरल र पूर्वानुमानयोग्य बनाउन पनि निक्कीले आग्रह गरेको छ।











